योजना आयोगका सदस्यलाई हेग पठाउने सरकारको निर्णय
पछिल्ला क्याबिनेट बैठकले विभिन्न चारवटा विदेश भ्रमण स्वीकृत गरेको छ । साउन ३० र हिजो बसेको बैठकले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणसहित अन्य तीनवटा सरकारी भ्रमणका लागि स्वीकृति प्रदान गरेको बताइएको छ ।
हिजोको क्याबिनेट बैठकले यसै महिनाको अन्तिम साता हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्युयोर्क भ्रमणलाई औपचारिकता दिएको छ । उहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लाग्नुभएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, असोज ८ र ९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले पनि स्वीकृति पाएको छ । हिजैको क्याबिनेटले अर्थमन्त्रीलाई इजिप्ट जान दिने निर्णय गरेको हो ।
युनिसेफको आयोजनामा नेदरल्याण्डको हेगमा आयोजना हुने पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छाले नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ । साउन ३० गतेको क्याबिनेट बैठकले उक्त भ्रमणमा बिच्छाको सहभागितालाई स्वीकृत गरेको हो ।
त्यसैगरी, भदौ २३ गते हुने माल्दिभ्सको राष्ट्रपतीय निर्वाचन अवलोकनका लागि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सरकारबाट अनुमति पाएका छन् । उनलाई भदौ २१ देखि २६ सम्मका लागि माल्दिभ्स गएर आउन बैठकले स्वीकृति दिएको छ ।


टिप्पणीहरू