जलविद्युत्का लागि साढे ३६ अर्ब बराबरको लागानी स्वीकृत
लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाहरू स्वीकृत गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डको आज बिहान बसेको ५५औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने बोर्ड बैठकको निर्णय छ । साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता ’राईजेन इनर्जी कम्पनी’बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि क्याविनेट समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, ’ग्रीन क्याल्सियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री’ स्थापनासम्बन्धमा अध्ययनका लागि मलेसियास्थित ’रेनिकोला एसडीएन बीएचडी’सँग गरिने समझदारीको मस्यौदा बैठकबाट स्वीकृत भएको छ ।
टिप्पणीहरू