भ्रष्टाचारविरोधी अभियान अझै सशक्त बनाउने गृहमन्त्रीको घोषणा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताउनुभएको छ ।
आज ललितपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारविरुद्धको अभियान कुनैपनि हालतमा नरोकिने समेत उद्ध्घोश गर्नुभयो । सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको सो पार्टीका बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।
'प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आम जनताहरू यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार बिरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,' गृहमन्त्रीले भन्नुभयो ।

भ्रष्टाचारविरोधी अभियान अझै दृढतापूर्वक अगाडि बढाउने स्पष्ट पार्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हुने समेत दावी गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड र सामान्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी अभियानको निरन्तरता रहेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । श्रेष्ठले पार्टी प्रवेश गर्नेहरू सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने पनि प्रष्ट पार्नुभयो ।
'श्रमजीवी जनता र राष्ट्रिय हितको पक्षमा माओवादीले चलाएको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने श्रमजीवी साथीहरूको निर्णय सही छ । तपाईंहरूले सही निर्णय गर्नुभएको छ । तपाईंको चाहना र भावना माओवादीले पूरा गर्छ,' उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, 'तपाईंहरूको आत्मसम्मान हुने गरी जिम्मेवारी दिइन्छ । सरकारले सुरू गरेको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा तपाईंहरू पनि सहभागी हुनुस्, हामी स्वागत गर्छौं । पार्टी प्रवेश गरेको मितिको आधारमा नहेरी सकारात्मक भूमिकाका आधारमा पार्टीले उचित मूल्याङ्कन गर्नेछ ।'
टिप्पणीहरू