अमेरिकी सिनेटर नेपाल आउँदै
अमेरिकी सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउँदैछन् । सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौँ आउन लागेका हुन् ।
उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रको भ्रमण गर्ने जनाइएको छ । त्यसैगरी सरकारी अधिकारीहरु, केही राजनीतिक दलका युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरसहकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरुसँग भेट गर्ने जानकारी दिइएको छ ।
सिनेटर क्रिसको कार्यालयले उनको भ्रमणले अमेरिकासँगको सम्बन्ध थप मजबुत बनाउने उल्लेख गर्दै सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने बताएको छ ।
नेपालसँगै उनले दक्षिण एसियाली मुलुकहरु श्रीलंका र माल्दिभ्सको भ्रमण गर्दैछन् । होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । यसअघि उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि विधेयक तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
टिप्पणीहरू