भोलिदेखि एमसिसीको औपचारिक कार्यान्वयन शुरु
अमेरिकी सहयोग परियोजना भोलिदेखि नेपालमा औपचारिक रुपमा कार्यान्वयनमा जाने भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) भोलिदेखि कार्यान्वयन चरणमा जान लागेको छ ।
एमसिए नेपालका अनुसार एमसिसीका आयोजनालाई कार्यान्वयन चरणमा लैजानुअघि नेपाल सरकारले सबै शर्त पूरा गरेको छ । जसअनुसार विद्युत प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ भने विद्युत् नियमन आयोग ऐन लागुका साथै आयोग गठन भएको छ ।
एमसिसी कार्यान्वयनमा जानुअघि विप्लव नेतृत्वको नेकपाले विरोध कार्यक्रम गर्दै आएको छ । मसाल जुलुसको आयोजना गरेको उक्त पार्टीले हिजो एमसिए कार्यालय, दरबारमार्ग बाहिर विरोध प्रदर्शन गरेको थियो । आज राष्ट्रिय नाचघर जमलमा विभिन्न दलका नेताहरुको सहभागितामा बृहत अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
एमसिसी परियोजना कार्यान्वयनका विरुध्द अन्तरक्रिया भनिएको कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लवलाई प्रमुख अतिथि बनाईंदैछ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेकपाका अध्यक्ष ऋषि कट्टेल,एमाले नेता डा. भीम रावल र बुध्दिजीवीको तर्फबाट डा. युवराज संग्रौला र डा. सुरेन्द्र भण्डारी पनि सहभागी हुने बुझिएको छ । आयोजकका अनुसार कार्यक्रम दिउँसो साढे १२ बजे हुनेछ ।
टिप्पणीहरू