खाडी पुगेका राप्रपा अध्यक्षको दावी - एकथोपा रगत नबगाई हिन्दुराष्ट्र ल्याउँछौँ !
पूर्वपन्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षता खारेजीको अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
धर्मनिरपेक्षको आडमा सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार भैरहेको दावीका साथ उनले वैदिक सनातन हिन्दुराष्ट्रको पक्षमा माहोल बनाउन प्रवाशका कार्यकर्तालाई अपील गरेका हुन् ।
राप्रपानिकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले भने, 'हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम गलत थियो, अब सच्याउन लाग्नुपर्छ ।'
त्यसक्रममा उनले अहिलेको राजनीतिक व्यवस्थाकै कारण लाखौं युवा विदेशिनु परेको पनि दावी गरे । गलत नेतृत्व र व्यवस्थाका कारण देश नबनेको लिङ्गदेनको भनाई छ । यसमा अझ जोड दिँदै उनले भने, 'गलत व्यवस्था र नेतृत्वका कारण स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको हो । त्यसकारण लाखौँ युवा रोजगारीका लागि विदेश आउनुपरेको छ । यो व्यवस्था सच्याउनुको विकल्प छैन !'
आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै लिङ्गदेनले जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा अनिवार्य साथ दिनुपर्ने बताए । नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दुराष्ट्र स्थापना गरेर छाड्ने समेत उनको अठोट छ ।
पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।
टिप्पणीहरू