राजधानीका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा गर्नैपर्ने

राजधानीका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा गर्नैपर्ने

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न निर्देशन दिएको छ । 

महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरुलाई आगामी पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरेर १५ दिनभित्र विभागमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । 

विभागले साधारणसभा सञ्चालनको क्रममा सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका २०७६ को पूर्ण पालना गर्न स्मरण गराएको छ । जसअनुसार सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई उपस्थितिका लागि आह्वान गर्ने, कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपूरक संख्या नपुग्ने नहुँदा गणपूरक संख्या पुर्याएर मात्र साधारणसभा सञ्चालन गर्न भनिएको छ । 

त्यस्तै, साधारणसभामा उद्घाटन तथा मन्तव्य कार्यक्रम कम राखेर सोझै एजेण्डामाथि सघन छलफल गर्ने वातावरण मिलाउने, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवम् पेश हुने अन्य सबै प्रतिवेदन तथा विषयमाथि पर्याप्त छलफल गराएर मात्र पारित गर्नुपर्ने आज जारी सूचनामा उल्लेख छ ।

विभागले सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानून, मापदण्ड एवम् विनियमबमोजिमको योग्यता पुगेका सदस्यहरुमध्येबाट निर्वाचित गर्ने, साधारणसभाबाट चालु आर्थिक वर्षको संस्थाको हिसाब किताबको लेखा परीक्षण गर्न एक जना लेखा परीक्षक र आवश्यकताअनुसार वैकल्पिक लेखा परीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक समेत तोक्न निर्देशन दिएको छ ।

संस्थाको विनियम संशोधन (नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएपश्चात् मात्र लागू गर्ने) कार्यविधि, नियमावली, नीति साधारणसधाबाट पारित गर्नुपर्ने, संस्थाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारणसभाबाटै अनुमोदन गर्नुपर्ने र साधारणसभाको प्रतिवेदनमा आवश्यक कागजातहरु समावेश हुनुपर्ने बताइएको छ ।

टिप्पणीहरू