गिरिबन्धु टि स्टेटमा आफूले बदमासी नगरेको एमाले अध्यक्षको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गा आफूले व्यवस्थित गरेको बताउनुभएको छ । विगतमा कमिशन खाएर जग्गा बिक्री गरिने गरेकोमा आफूले कानुन बनाएर व्यवस्थित गरेको उहाँले जिकिर गर्नुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०५३ सालदेखि नै कमिशन खाएर जग्गा बेच्न थालिएको उल्लेख गर्दै भन्नुभयो, ‘त्यसको छानबिन हुनुपर्छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन २०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । २०६० कि कति सालमा बिनाकानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाउ ।’ तर आफूहरुले कानुन बनाइदिएको र अब उप्रान्त कानुनसम्मत भनेको उहाँको भनाई छ ।
अध्यक्ष ओलीले यती, ओम्नी, वाइडबडी प्रकरणबको पनि छानबिन गर्न चुनौती दिनुभएको छ । यी सबै प्रकरणमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गर्नुभएका उहाँले छानबिन भए सत्तापक्षकै नेताहरु जेल जाने उल्लेख गर्नुभयो ।
‘यति यति भनेर कराइरहेका छौ, गर न छानबिन, वाइडबडी छानबिन गर न, जाउ आफैं जेलमा । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई भन्दैथे त ललिता निवास भनेर । गर न छानबिन’, ओलीले भन्नुभयो ।
टिप्पणीहरू