एमालेमा गुट छैन, एमालेमा गुट छ

एमालेमा गुट छैन, एमालेमा गुट छ
सुन्नुहोस्

नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सोमबार बुटवलमा भनिन्, ‘पार्टीभित्र कसैको गुट छैन, मिडियाबाट गलत प्रचार गरियो।’ तर,उनै पद्मा अर्याल काठमाडौँ नपुग्दै मंगलबार दिउँसो एमाले महासचिव शंकर पोखरेलनिकट केही केन्द्रीय सदस्य र प्रदेश स्तरीय नेताहरूले रुपन्देहीको नयाँगाउँमा गोप्य बैठक बोलाए ।

नयाँ गाउँको महासचिव पोखरेलनिकट गुटको बैठकमा नेताहरू बलराम अधिकारी,कुमार दसौदी,विमला घिमिरे,नारायण आचार्य,चेतनारायण आचार्य, भूमेश्वर ढकाल,तेजेन्द्र केसी,शिव सुवेदी,हुकुम बस्नेत,हरि रिजाल र मनोहर बुढाथोकी सामेल थिए।

बैठकमा उपस्थित ‘शंकर पोखरेल गुटका लुम्बिनी प्रदेश प्रमुख’ बलराम अधिकारीले महासचिवको सन्देश भन्दै गुटको बैठकमा झण्डै एक घण्टा बोले । उनले एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट हरि रिजाललाई अध्यक्ष बनाउनुपर्ने चुनौती रहेको बताउँदै जिल्ला–जिल्लाबाट छानिएका प्रतिनिधिहरूलाई आफूतिर तान्न आग्रह गरे।

‘यो अधिवेशन हाम्रालागि एउटा अवसर हो । लुम्बिनी प्रदेशमा विष्णु पौडेलले आफूनिकट नेताहरूलाई छानीछानी जिम्मेवारी दिँदा हामीहरू कमजोर भयौँ । यसपालि हरि कमरेडलाई अध्यक्ष बनाउनैपर्छ,नत्र हामीहरू झन् कमजोर हुन्छौँ,’ अधिकारीले भने।

महासचिव पोखरेलको गृहजिल्ला दाङमा उपाध्यक्ष विष्णु पौडेल र नेकपा एसबाट आएका नेताहरूको भूमिकालाई लिएर उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन्।

‘दाङको अवस्था के हो ? सन्देश राम्रो आइरहेको छैन,’भेलामा सहभागी रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले भने, ‘मेरो जिल्लाबाट ५० प्रतिशत प्रतिनिधि थुतेका छौँ । तर दाङबाट झण्डै ४० प्रतिशत प्रतिनिधिहरू विष्णु पौडेलतिर छन् भन्ने हल्ला छ,सत्य के हो ?’

महासचिवनिकट नेताहरूले एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई अस्तित्वको लडाइँ भनेका छन् । ‘यो चानचुने विषय होइन,हामीहरू मैदानमा आइसकेका छौँ,सके सहमतिबाटै हरि कमरेड अध्यक्ष बन्नुहुन्छ नभए हामीहरू जित्नैपर्छ,’एमाले केन्द्रीय सदस्य कुमार दसौँदीले भने ।

टिप्पणीहरू