अमेरिकालाई युवा संघको प्रश्न ‘१२ बुँदे व्याख्यात्मक घोषणाबारे मौनता किन ?’

अमेरिकालाई युवा संघको प्रश्न ‘१२ बुँदे व्याख्यात्मक घोषणाबारे मौनता किन ?’

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालले एमसीसी कार्यान्वयनसँग सम्बन्धित १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको मौनताबारे प्रश्न गरेको छ । 

संघका अध्यक्ष कृष्णकुमार विश्वकर्माले एमसीसीबारे अमेरिकाले स्पष्ट नपारेसम्म कार्यान्वयनमा जान नसकिने बताएका छन् । जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘एमसीसी आफैंमा एउटा असमान सम्झौता हो । यो सम्झौता र त्यसका पूरक सम्झौताका अनेकौं दस्तावेज छन् । ती दस्तावेजमा दर्जनौं अपमानजनक र असमान ढंगका शर्तहरु छन् । तीमध्ये कमसेकम १२ बुँदे शर्तहरुलाई व्याख्यात्मक घोषणाबाट सोझ्याउने प्रतिबद्धता नेपालको संसद्ले गरेको थियो । आजसम्म त्यहि १२ बुँदेको अत्तोपत्तो नहुनु आश्चर्यजनक विषय बनेको छ । १२ बुँदेलाई सम्झौताको अंग घोषणा नगरी उक्त सम्झौता लागू हुनै सक्दैन भन्ने कुरा अमेरिकीहरुले राम्ररी बुझन जरुरी छ ।’ 

युवा संघले एमसीसी लागू गर्न अमेरिकीहरु काठमाडौं आइसकेको उल्लेख गर्दै उक्त व्याख्यात्मक घोषणाको नियतिबारे नेपाली जनतालाई जानकारी गराउन माग गरेको छ ।

 

‘यसबारेमा नेपाली जनतालाई सुसूचित गराइएको छैन । यसर्थ उक्त सम्झौता बारेमा के भइरहेछ ? सम्पूर्ण कुरा नेपाली जनतालाई जानकारी गराइयोस् व्याख्यात्मक घोषणाको नियति के भयो जानकारी गराइयोस् ! यदी अमेरिका संसदको घोषणा मान्न तयार छैन भने एमसीसी सम्झौतालाई सम्झौताकै प्रावधानबमोजिम ३० दिनको नोटिस दिएर खारेज गरियोस् ।’

अन्यथा, युवा संघ सम्पूर्ण नेपाली जनतालाई गोलबन्द गरेर विरोधमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । उसले देशभक्तिपूर्ण आन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरेको छ ।

टिप्पणीहरू