एमाले महासचिव शंकर पाेखरेलका कार्यकर्तालाई विष्णु पाैडेलनिकट नेताकाे धम्की
एमाले लुम्बिनी प्रदेश अधिवेशन नजिकिदै जाँदा दुई पक्षबीच चर्को गुटबन्दी देखिएको छ । गुटबन्दी चर्को बन्दै जाँदा एकले अर्को पक्षलाई कमजोर पार्न धम्की र त्रास दिन थालिएको छ ।
एमाले रूपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीका संयोजक बाबुराम पन्थीले अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएको अडियो सार्वजनिक भएको छ । उनले फेसबुकमा अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेलले हार्न सक्ने भन्दै कमेण्ट र प्रतिक्रिया दिने एमाले कार्यकर्ता ऋषि रिजाललाई अश्लिल शब्दसहित धम्क्याएका छन् । ‘ए तिम्रो बाउको टाउको,.....तिम्रो मान्छे को छ बुटवलमा ?"—उनले भनेका छन् ।
बाबुराम तिनै हुन्,जसले एक वर्ष अघि भैरहवाकी एक महिलालाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए । ती महिलाले त्यो अडियो सार्वजनिक गर्ने र प्रहरीमा उजुरी दिने बताएपछि ‘दिदी भनेर माफी माग्छु,गल्ती भयो भन्दै रोएपछि थामथुम भएको थियो ।
नेकपा कालमा एमाले बुटवल उपमहानगर कमिटीको अध्यक्ष रहेका उनले त्यसबेला बुटवल उपमहानगरमा सञ्चालित विकास आयोजनाका निर्माण व्यवसायीलाई धम्क्याउँदै असुल गरेको प्रमाणहरु एमाले नेताकहाँ पुगेको थियो । त्यस विषयमा गुनासो गर्दा पनि नेताहरुले बेवास्ता गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । त्यसबेला तिनाउ नदीबाट अवैध ढंगले भइरहेको उत्खननमा पनि उनले सघाएको आरोप लागेको थियो ।
बुटवलका एक एमाले नेताले भने,‘बुटवलमा विष्णु पौडेलका विरुध्द को लाग्न सक्छ,हेरौं । आगामी जिल्ला अधिवेशनमा सचिवमा उम्मेदवारी दिने हो, ढुक्कले जितिन्छ भन्दै हिंडेका छन् ।’
दुई वर्षअघि विष्णु पौडेल निकट व्यवसायी गोपाल रानाविरुध्द लाञ्छना लाग्ने गरी फेसबुक स्टाटस राखेका उनी अहिले रानासँग निकट छन् । यी दुईको मिलनलाई लिएर यहाँका एमालेजन आश्चर्यचकित भएका छन् ।
प्रदेश अध्यक्षका लागि प्युठानका हरि रिजाल र पाल्पाका राधाकृष्ण कँडेलले आकांक्षा देखाएपछि लुम्बिनी प्रदेशको राजनीति पेचिलो बनेको हो । सोमवार मणिग्रामको ड्रिम रिसोर्टमा कँडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै नेताहरु खिमलाल भट्टराई,लीला गिरी,भोजप्रसाद श्रेष्ठ,दधिराम न्यौपानेलगायतका नेताहरुको बैठक बसेपछि मंगलबार हरि रिजाललाई अध्यक्ष बनाउनपर्ने लबिङमा लागेका चेतनारायण आचार्य,बलराम अधिकारी,भूमिश्वर ढकाल,शिव सुवेदी लगायतका नेताहरु लुम्बिनी प्रदेशका ८ जिल्ला अध्यक्षसहित बैठक बसेका थिए । यहाँका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरु दुई ध्रुवमा बाँडिएपछि मिलन विन्दु जटिल बनेको हो । मझधारमा रहेर मिलाउन सक्ने नेताहरु पनि कित्ताकाटमा उभिएपछि समस्या भएको हो । दुई अध्यक्षका आकांक्षी देखिएपछि उनीहरुका समर्थक नेता कार्यकर्ताले पार्टीका दुई नेता महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकट भन्दै प्रचार गर्न थालेका छन् । रिजाललाई महासचिव पोखरेल र कँडेललाई उपाध्यक्ष पौडेलको उम्मेदवारको रुपमा प्रचार गरिए पनि दुई नेताले मुख खोलेका छैनन् ।
उम्मेदवार निकट नेता कार्यकर्ताको आक्रोश बढ्दै गए पनि अध्यक्षका आकांक्षी दुई उम्मेदवार भने संयमित देखिन्छन् ।
टिप्पणीहरू