भ्रष्टाचार विरोधी अभियान पनि एक किसिमको जनयुद्ध हो : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले संसदमा लगभग शतप्रतिशत विश्वासको मत पाएको बताउनुभएको छ । उहाँले जम्मा ३२ सिटको पार्टीका संसदीय दलका नेताले अत्यधिक बहुमत पाएर वर्तमान सरकार बनेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘माओवादी पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको हुँ । ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा तेस्रो पटक प्रधानमन्त्री बनेको हुँ ।’ उहाँले काठमाडौंको चन्द्रागिरिस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्ने क्रममा उक्त धारणा राख्नुभएको हो ।
सिद्धान्ततः संसदमा ९० र ८० सिट भएका राजनीतिक दलहरुका अगाडि ३२ सिट भएको पार्टीका नेताले प्रधानमन्त्री हुने तागत नै नराख्ने उहाँको भनाई छ । यो सबै माओवादीको राजनीतिक एजेण्डाको तागत र नेपाली जनता, कार्यकर्ता र मूल नेताको हैसियतले आफूमा केन्द्रित तागतको कारणले भएको उल्लेख गर्नुभयो ।
तर प्रतिक्रियावादीहरुले वर्तमान सत्तारुढ गठबन्धन फुटाउन सरकारको भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैलाएको आरोप पनि लगाउनुभएको छ । उहाँले भ्रष्टाचार विरोधी अभियानलाई नयाँ खालको जनयुद्धको संज्ञा दिनुभएको छ ।
टिप्पणीहरू