सभामुखलाई प्रश्न : जनप्रतिनिधिलाई महंगो होटलमा प्रशिक्षणको औचित्य के ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले तालिम र गोष्ठीका नाममा भइरहेको खर्चमा मितव्ययी भएर ठोस नतिजा निकाल्ने कार्यक्रममा लगानी गर्नेतर्फ सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।
आज सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनले सरकारले राजस्व लक्ष्य भेट्न नसकेर विभिन्न विधामा खर्च कटौती गरिरहेको सन्दर्भ उल्लेख गर्दै भनिएको छ, ‘जनप्रतिनिधिले महंगो तारे होटेलमा प्रशिक्षिण लिन जाँदा आम नागरिकमा कस्तो सन्देश जान्छ ?’

पत्रमा लेखिएको छ, ‘अर्थतन्त्रमा भइरहेको गिरावटले आम जनताहरु पीडामा भएको कुरा सर्वविदितै छ । व्यापार व्यवसायमा कमी आएको छ, काठमाडौं उपत्यकामा भाडा तिर्न नसकेर कसरी खाली सटरहरुको संख्या उकालो लागिरहेको छ । सरकारले पनि राजस्व लक्ष्य भेट्न नसकेर विभिन्न विधामा खर्च कटौती गरिरहेको छ । हामी जनप्रतिनिधिले भने महंगो तारे होटलमा प्रशिक्षण लिन जाँदा आधारभूत आवश्यकतामा सम्झौता गरिरहेका आम नागरिकमा कस्तो सन्देश जान्छ ?’
सांसद श्रेष्ठले यस विषयमा सदनको ध्यानाकर्षण गराउन सभामुखबाट रुलिङ्गको समेत माग गरेकी छन् । उनले आवश्यकता निर्धारण गर्न सांसद र संसद सचिवालयको पनि संलग्नता रहनुपर्ने, एउटै व्यक्तिलाई एकै खालको प्रशिक्षण दिनुको प्रभावकारिता नरहेको बताइन् । ‘विचार गरियोस्, प्रशिक्षण कति प्रभावकारी भयो भन्ने मापन गर्ने संयन्त्रको पनि विकास होस् र प्रशिक्षणस्थल छनौट गर्दा सकभर सरकारकै मातहतका निकाय वा सार्वजनिक स्थलको उपयोग गरियोस्,’ ध्यानाकर्षणमा भनिएको छ ।
टिप्पणीहरू