एमालेमा उपाध्यक्षले महासचिवलाई हराउने संकेत

एमालेमा उपाध्यक्षले महासचिवलाई हराउने संकेत

एमाले लुम्बिनी कमिटीको प्रथम महाधिवेशनबाट लक्ष्मण आचार्य सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । उनले पहिले महासचिव शंकर पोखरेलको प्यानल रोजेका थिए । आजै अपरान्ह निर्विरोध भएसँगै अहिले विष्णु पौडेलको समूहमा रहेको बताउन थालेका छन्  । 

आचार्य निर्विरोध भएपछि स्वयम् पोखरेल समूहले नै उनी पौडेल समूहको तर्फबाट विजयी भएको बताएको छ । यो हिसाबले पौडेल प्यानलका सबैजसो उम्मेदवार निर्वाचित हुने संभावना देखिएको चर्चा बुटवलमा ब्याप्त छ । 

यससङ्गै उद्घाटन र बन्दसत्र दुबैमा बोलेर अध्यक्ष केपी शर्मा ओलीले बलजफ्ती, दबाब र करकापमा हरि रिजाललाई अध्यक्षमा ल्याउन खोज्नुभएको स्पष्ट भएको छ । महासचिव शंकर पोखरेल,सचिव पद्मा अर्यालसमेतको चाहनामा रिजाललाई केन्द्रले धेरै पहिलेदेखि अध्यक्षको निम्ति अघि सारेको थियो । 

तर,अध्यक्ष,महासचिव र सचिवको योजना त्यस्तो रहे पनि पछिल्लो समय चुनाव जित्ने हिसाब निस्केसङ्गै पौडेल समूहले चुनाव लड्ने हिम्मत गरेको बताइन्छ । महासचिव पोखरेलको जिल्ला दाङ्गका प्रतिनिधिहरुमध्ये पौडेल पक्षमा आधाभन्दा बढी रहेको देखिएको छ । 

यता पौडेल समूहले पहिले प्रदेश तदर्थ कमिटीमा बसेर राम्रो काम गरेका सबैलाई उम्मेदवार बनाएकाले पनि राजनीतिक सन्देश सकारात्मक गएको निश्कर्ष निकालिएको छ । अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ पहिलेकै कमिटीमा थिए । पौडेल समूहबाट उठेका श्रेष्ठ बुटवलका पूर्व मेयर हुन् । 

सचिवमा आचार्य निर्विरोध भइसकेका छन् । उपसचिव लीला राना पनि यसअघिको तदर्थ कमिटीमा उपसचिव नै रहेकोे र अहिले पनि पौडेल समूहलाई नछोडेको बुझिन्छ । अर्का उपसचिव भने नयाँ हुन् ।

निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुन लाग्दा अध्यक्ष केपी ओलीको सम्बोधनले महाधिवेशनस्थलमा चर्चा पाउन थालेको छ । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक उद्घाटन र बन्द सत्रमा अध्यक्षले सम्बोधन गर्नुभएको यही अधिवेशन हो ।

यता प्युठानका प्रतिनिधि विजयविराज बिष्ट अध्यक्ष उम्मेदवार हरि रिजालका प्रस्तावक हुन् । उनी आफैँले कता भोट हाल्छन् भन्ने विषय नै पोखरेल पक्षधरहरुबीच आशंकाको विषय बनेको छ  । प्युठानका अध्यक्ष विष्ट विगतमा नेता वामदेव गौतमका निजी सहायक थिए ।

टिप्पणीहरू