अबदेखि हकार्ने, तर्साउने, डाम्ने काम गरिँदैन : सभापति खतिवडा
ओखलढुंगाबाट निर्वाचित नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई संसद्को सुशासन तथा राज्य व्यवस्था समिति सभापतिको जिम्मेवारी दिइएको छ । भदौ ११ गते सभापतिमा निर्वाचित खतिवडाको सम्मानमा अस्ति बधाई तथा शुभकामना बैठक राखिएको थियो ।
उनीसँग यसअघि लेखा समितिमा रहेर भ्रष्टाचार तथा आर्थिक अनियमितताविरुद्ध भूमिका खेलेको अनुभव छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापामाथि लागेको अनियमितताको आरोप छानबिन प्रक्रिया अघि बढाउन उनी निकै सक्रिय भएका थिए । त्यसबेला गणेश र खतिवडाबीच भएको टकराव बाहिर आएको थियो । उनै रामहरिसँग राज्य व्यवस्था समितिको सभापतिको रुपमा पहिलो बैठकको शुभारम्भ गरेपछि सोधिएको थियो : समितिलाई थप प्रभावकारी तुल्याउन कुनै योजना बनाउनुभएको छ ?
मुलुकमा सुशासन कायम गराउनु नै आजको मुख्य एजेण्डा हो । यो समितिको नामले नै यसको कार्यक्षेत्र र भूमिकाबारे प्रष्ट पारेको छ । मुुलुकको कार्यकारी जिम्मेवारीमा रहेका पनि सांसदको रुपमा त्यहाँ पुगेका हुन्छन् । चाहे प्रधानमन्त्री हुन् या मन्त्रीहरु । यतिखेर मुलुकमा सुशासन कायम नहुने र कानुन मिच्ने काम नेतृत्व तहबाटै भएको देखिन्छ । सुशासन कायम गर्ने मामिलामा यो ठूलो चुनौतीको रुपमा देखेको छु ।
त्यसकारण यो समितिलाई दलीय समितिभन्दा माथि उठाएर साझा थलोको रुपमा विद्यमान विकृति, विसंगती र कुशासन अन्त्य गर्न सामूहिक पहल गर्नुको विकल्प छैन । सभापतिको हैसियतमा यो कामको नेतृत्व गर्ने जिम्मा मैले पाएको छु, म प्रयास गर्नेछु । सबै साथीहरुबाट शुभकामना पाएको छु ।
समितिको सभापतिको जिम्मेवारी छाड्ने दिन पनि हाम्रो पालामा यस्ता राम्रा काम भएको भनेर देखाउन सकिएमा मात्र अहिले प्राप्त गरेको शुभकामनाको सार्थकता हुन्छ भन्ने कुरालाई मैले गहिरोसँग मनन गरेको छु । त्यसैले सबैसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ । अब पुरातनवादी शैलीमा कसैलाई समितिमा बोलाएर हकार्ने, तर्साउने गरिँदैन । परिणाम प्राप्त हुनेगरी काम गर्नेछौं । कसैलाई डामेर छाड्ने कुरा हुँदैन, बरु कानुन सम्मत सही बाटोमा ल्याउने र आवश्यक निर्देशन दिने काम समितिले जिम्मेवार भएर गर्छ ।
समितिमा राजनीतिक रुपमा ओजिला (हेभिवेट) नेताहरु सदस्य हुनुहुन्छ । तर, उहाँहरु समितिको बैठकमा प्रायः अनुपस्थित हुने गरेको विगतको अनुभव छ । भोलिका दिनमा पनि बैठक बस्न कोरम नपुग्ने अवस्था आउला नि ?
ढुक्क हुनुस्, विगतमा जस्तो यसपटक हुँदैन । हामी समितिको बैठक सबैसँग सल्लाह गरेर राख्छौँ । हेभिवेट भनेर समितिले कसैलाई चिन्दैन । म पनि बैठकको अध्यक्षता गर्दा मात्र सभापतिको रुपमा रहौंला तर समितिको सभापति र माननीय सदस्यहरु जो यसका सदस्य हौँ सबै बराबर हो । हामी सबै समितिमा बसेकाहरु केही गरौँ भन्ने भावना लिएर आएका छौँ । त्यसकारण काम गरेर देखाउनु नै हेभिवेट हो । सबै मिलेर समितिलाई सफल र क्रियाशील बनाउने हाम्रो योजनामा यस्ता कुरा बाधक हुनुहुँदैन । हेभिवेट भनिने नेताहरु पनि कुनै यौटा निर्वाचन क्षेत्रको माननीय हो । आफ्ना मतदाताप्रति उहाँहरु उत्तरदायी हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । समग्रमा भन्दा समिति आफ्नो लक्ष्यमा सफल हुनेमा म दृढ छु । यो अवसरको हामी सदुपयोग गर्नेछौँ ।
संसदीय समिति ‘मिनी पार्लियामेन्ट’ पनि हो । यसको महत्व र भूमिकामा कुनै प्रश्न छैन । तर, विगतमा समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई दिएका कतिपय निर्देशनहरु पालना नभएको उदाहरण छ । आगामी दिनमा यसतर्फ सुधार गर्न सक्नुहुन्छ ?
हो, यो समिति मिनी पार्लियामेन्ट नै हो । यसले गर्ने काम सिङ्गै व्यवस्थापिकाले गर्ने कामभन्दा कम हुँदैन । समितिले निर्देशन दिने भनेको कार्यपालिकालाई हो । कार्यपालिकामा यही व्यवस्थापिकाबाट गएकाहरु हुनुहुन्छ । त्यसकारण समिति पनि सबैको साझा हो भनेर बुझ्नुपर्छ । हामी जति गम्भीर छौं, उहाँहरु पनि त्यत्तिकै हुनुपर्छ । सुशासनका लागि हामीले निर्देशन दिने हो । कार्यान्वयन गर्ने काममा पनि समितिले भूमिका खेल्छ । मलाई विश्वास छ हामी अडिगका साथ कार्यान्वयन गराएर छाड्छौँ ।
विगतमा तपाई लेखा समितिमा हुनुहुन्थ्यो । त्यतिबेलाको आफ्नो भूमिकालाई आज कसरी स्मरण गर्नुहुन्छ ?
म त्यतिखेर संसदको सार्वजनिक लेखा समितिमा थिएँ । एनसेलले सरकारलाई बुझाउनुपर्ने अर्बौं रकम नतिरेको उजुरी पर्यो । सरकारी रकम तिराउन समितिको एक सदस्यको रुपमा मैले पनि महत्वपूर्ण भूमिका खेलेको थिएँ । सायद हामी नभएको भए एनसेलले पैसा तिर्दैन्थ्यो ।
त्यसैगरी नेपाल टेलिकमको ’फोर जी’ ल्याउँदा केही बदमासी भएका कुरा बाहिर आएका थिए । तत्कालीन अवस्थामा पर्यटन बोर्डमा भएको अनियमितता तथा भ्रष्टाचार, सोलु करिडोरमा भएका अनियमितता, एन्फामा भएको बदमासीका घटनामा समितिले निकै मेहनतका साथ काम गरेको थियो ।
त्यसैगरी प्रहरीको लजिस्टिक खरिदमा भएको घोटालालगायत अन्य थुप्रै भ्रष्टाचारका काण्डहरु त्यसबेला बाहिर आएका थिए । त्यसबारे परेका उजुरीमाथि लेखा समितिले सुनुवाई गर्यो । बेरुजु फछ्र्यौट गर्ने काममा पनि समिति सक्रिय भएर लाग्यो । समग्रमा भन्दा त्यतिबेला लेखा समितिलाई निकै चलायमान गराइएको थियो । अब यो समितिलाई पनि त्यसैगरी चलायमान बनाउने छौँ ।
राजकुमार रायबाट ।
टिप्पणीहरू