‘सुशासन’मै सास फेर न साथीहरू

‘सुशासन’मै सास फेर न साथीहरू
सुन्नुहोस्

‘सुशासनको सुदर्शनचक्र’ ले को, कसलाई कहाँ कहाँ कसरी हान्दै जाने हो आगामी दिनहरू रूचीकर र उत्साहपूर्ण हुनेछन् । प्रधानमन्त्री र गृहमन्त्री आफ्नो अर्को कोही नभन्ने भन्दै भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न झन् उत्साहित देखिएका छन् । नयाँ, पुराना अपराधमा संलग्न र आरोपितहरूलाई समातेर अनुसन्धान गर्न प्रहरी स्वतन्त्रजस्तो देखिएको छ । सांसद डा.सुनिल शर्मासम्म आउँदा त्यसले गति लिएकै झलक दिन्छ । 

केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो कदमले माओवादीको शाख जोगिएको भनी गोप्य छलफलमा अभिव्यक्ति दिएको सूचना बाहिर आएको थियो । यो कुरा केही हदसम्म ठीकै हो किनभने गृहमन्त्रीको आक्रामक कदम र अडानका कारण नै यो सरकारले नम्बर पाइरहेको छ । गठबन्धनका एक–दुईबाहेक अन्य सबै मन्त्री गुमनाम छन् । ती के गरिरहेका छन् भनेर पत्रकारले नै खोज्नुपर्ने बेला आएको छ । यतिसम्म कि माओवादीका मन्त्रीहरू समेत गुफा पसे कि भन्नुपर्ने अवस्था छ । तिनीहरूले आफ्नै सरकारका जायज कामहरूको पनि प्रतिरक्षा, प्रचार प्रसार गरेको पाइँदैन । यस्तो अवस्थामा गृहमन्त्रीको काम सह्रानीय नै छ तर पनि प्रधानमन्त्रीय प्रणालीमा उनीसँगको सल्लाह र निर्देशनबेगर गृहमन्त्रीमा यस्तो आँट र अडान आएको भनेर बुझ्नु वर्तमान शासकीय प्रणालीको स्वरूप नबुझ्नुसरह हुन्छ । 

माओवादी पार्टी बिग्रिएको त प्रचण्डसहित सबै नेता, कार्यकर्ता, जनता, शुभेच्छुकले स्वीकारेकै छन् । माओवादीहरू अझै पनि पारदर्शी छैनन् । बबी चप्पल र गोल्डस्टार जुत्ता लगाउनेहरू रातारात नवधनाढ्य भएका छन् । सेटल भएका छन् । कसरी भए, कसले खोज्ने ? बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्ति, सहिद परिवारको अवस्था ज्यूँका त्यूँ हुँदा माओवादी हौँ भन्नेहरूको मन किन पोल्दैन ? छाती किन चर्कदैँन ? रोगप्रतिरोधात्मक शक्ति कमजोर भएकाले माओवादीका सम्पूर्ण प्रणालीहरू बिग्रेको कुरा साँचो हो ।

माओवादी पार्टी बिग्रिएको त सबै नेताले स्वीकारेकै छन् । माओवादी हाैँ भन्नेहरूकाे मन किन पाेल्दैन ? छाती किन चर्कदैँन ?

तैपनि सुशासनसम्बन्धी अभियानपछि माओवादी बौरिन खोज्दैछ । सामाजिक सञ्जाल र मेलापात, सार्वजनिक यातायात, चिया पसल, बाटाघाटाका कुरा गर्ने हो भने, प्रचण्ड र सरकारको लोकप्रियताको ग्राफ बढेको छ । माओवादीले नै ठीक गर्ने रहेछ भन्ने गफ गरेको सुनिन्छ तर यो वाहवाही र गफ नक्कली हो कि सक्कली भनेर प्रष्ट हुन वा यसको नयाँ गणितीय परिणाम कुर्न कि ०८४ कि मध्यावधि निर्वाचन पर्खनुपर्ने हुन्छ । सरकारले यो अभियान छोड्न हुँदैन । माओवादीभित्रका भ्रष्टहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । 

यही बीचमा साउन १७–२१ सम्म माओवादीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सरकारका कदमको प्रशंसा मात्रै भएन, पार्टी अध्यक्ष प्रचण्डको आलोचना पनि भएको छ । तैपनि बैठकले तत्काल प्रचण्डको विकल्प खोज्न सकेन । अन्ततः जनतासँग जोडिनेलगायतका निर्णय गरेर बैठक सम्पन्न भयो । माओवादीका यस्ता बैठकहरू त पटक पटक भएकै छन् । निर्णय हुने, कार्यान्वयन नहुने आम नेपाली रोगबाट माओवादी पनि ग्रसित छ । सुख, सयल, विलासिता र सहरिया दारले अल्छी भइसकेका, आफ्नै पार्टी, साथीभाइ, जनतासँगै जुध्न थालेका र ठेक्कापट्टा, कमाऊ, रमाऊ, दारू समाऊ अभियानमा व्यस्त र मस्त भइसकेका माओवादीका धेरैजसो केन्द्रीय नेता पहिलेकै जस्तो ‘स्पिरिट’ बोकेर आधारभूमिसम्म पुग्लान् भन्नेमा शंका नै छ । किनकि अध्यक्ष प्रचण्ड जहिले पनि ‘वान मेन आर्मी’ हो, अरू नेता–कार्यकर्ता पर्यवेक्षक वा दर्शक जस्ता मात्रै हुन् ।

मानौँ कि प्रचण्ड दाता, निर्माता हुन्, अरू माग मात्रै दाबी गर्नेहरू, घुर्क्याउने, थर्काउनेहरू हुन् । पार्टीमा जस्तै सरकारमा पनि प्रचण्ड ‘वान मेन आर्मी’ जस्तै भएका छन् । प्रचण्डले नै सरकारका कामको प्रचार गर्दै हिँड्नुपर्ने अवस्था छ । माल बिकाउन जानेकाहरूले यत्तिको काम गरेको भए बजार कब्जा गरिसक्ने थिए । देश, विदेशमा भाइरल पार्ने थिए । माओवादी पार्टीको नाममा स्थापित भएका वा माओवादीकै नाममा दाल गलाउने अरू नेताहरू न बोल्छन्, न पार्टी र सरकारका कदमको, न गठबन्धनको ‘डिफेन्ड’ गर्छन् । बरू ल्हाक्र्याल लामाहरूको नियुक्तिजस्ता सामान्य मुद्दा पाए भने प्रचण्ड, गठबन्धन सरकार र माओवादी पार्टीलाई नै खुइल्याउने गरी सामाजिक सञ्जालमा समय फाल्छन् । यसबाट पनि माओवादीका नेता, कार्यकर्ता पछिल्लो निर्णयअनुसार ‘फिल्ड’ मा गएर इमान्दारिताका साथ जनतासँग माफी मागी काममा जोडिएलान् भन्नेमा पूर्ण विश्वस्त हुन सकिने अवस्था छैन । 

तर माओवादीका यथास्थितिवादी मस्तरामहरूले बुझे पनि नबुझे पनि, माने पनि नमाने पनि, बुझेर बुझ पचाए पनि अब माओवादीको अन्तिम श्वासप्रश्वास क्रिया सुशासनबाट मात्रै सम्भव छ । वर्तमान अवस्थामा राप्रपाबाहेक सबै दल माओवादीकै एजेण्डामा चलिरहेका छन् । ०६५ पछि स्थापित गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षताजस्ता एजेण्डा माओवादीकै हो तर पनि आफ्नै एजेण्डा हो मात्रै भनेर मख्ख पर्दैमा कहाँ समाजवाद, साम्यवादमा पुगिन्छ र ! बगैंचामा लगाएको फलफूलको संरक्षण, गोडमेल, सुरक्षा नगरेसम्म आफ्नै हो भनी निदाएर मात्रै कहाँ जोगिन्छ र ? फलफूल चोरहरू अनेक नाम, रूप, रङ्गमा बगैंचामा छिरेका छन् र अझै पनि छिर्न सक्छन् भनेर सचेत पनि त हुन प¥यो नि ! यो कुरा प्रचण्डले बुझी, देखिसकेका छन् । हुन पनि सडक, बाटोमा कहाँ खाल्डाखुल्डी छ र कहाँसम्म छ, त्यसलाई कसरी कति गति दिनुपर्छ भन्ने कुरा सर्वप्रथम चालकलाई मात्रै थाहा हुने हो, सिटमा बसेका वा उभिइरहेका यात्रुहरू त घटना भइसकेपछि आबुई... भन्ने न हुन् ! त्यसैले माओवादीहरूले सुशासन आफ्नो अन्तिम श्वासप्रश्वास हो र यही श्वासप्रश्वास क्रियाबाट बौरिएर विचार मिल्ने सहयात्रीलाई साथ लिई समाजवाद– साम्यवादको यात्रामा अगाडि बढ्नुपर्छ भनेर बुझेनन् भने भोलि पुरै विघटित हुने दिन आउने छ । आफ्नै एजेण्डा भन्दै मनको लड्डु घ्यूसँग खाएर बस्नु, आफ्नो रोगप्रतिरोधात्मक शक्तिको ख्याल नगर्नु र कुनै प्राणीको शरीरका सबै अङ्गप्रत्यङ्गहरू बलिया भएर पनि श्वासप्रश्वास प्रणालीले काम नगर्नु उस्तैउस्तै हो ।

टिप्पणीहरू