परमादेशी मुख्यमन्त्रीद्वारा शपथ, चार सदस्यीय क्याबिनेट गठन

परमादेशी मुख्यमन्त्रीद्वारा शपथ, चार सदस्यीय क्याबिनेट गठन

सर्वोच्च अदालतको परमादेशले दोस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नेकपा एमाले प्रदेश सभामा संसदीय दलका नेतासमेत रहेका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई आज साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्रीको शपथ लिएलगत्तै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री भएका उनले आफ्नै पार्टी एमालेबाट तिलकुमार मेन्याङ्वो, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री नियुक्त गरेका हुन् । कार्कीलगत्तै शपथ लिएका उनीहरुलाई क्रमशः ऊर्जा, वन र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।   

त्यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले हिजो ४८ घण्टाको समय तोकेर कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री भएका उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

टिप्पणीहरू