चीन भ्रमण फलदायी हुनेमा प्रधानमन्त्री ढुक्क,यस्ता छन् सर्वदलीय बैठकका सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।भ्रमणमा जानुपूर्व सुझाव लिन आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उहाँले भ्रमण फलदायी बनाउने गरी आवश्यक गृहकार्य गरिएको बताउनुभयो ।
दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको पनि त्यसक्रममा उल्लेख गर्नुभयो ।
'यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको'हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ ती महत्वपूर्ण छन्',प्रधानमन्त्रीले भन्नुभयो, 'यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।'
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर,शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपालले खेलिरहेको भूमिकालगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र त्यतैबाट चीन भ्रमणमा निस्कने कार्यतालिका छ । अमेरिकाबाट सिधै चीन जाँदा भ्रमणको महत्व कम हुनेतर्फ कतिपयले प्रश्न उठाएका छन् । तर, प्रधानमन्त्रीले भने कूटनीतिक क्षेत्रका जानकारहरुसँग परामर्श गरेरै त्यस्तो निर्णय गरिएको बताउनुभयो ।
कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन जाने कार्यतालिका निर्धारण गरिएको उल्लेख गर्दै उहाँले भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिनुभयो ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा,केपी शर्मा ओली, माधवकुमार नेपाल,परराष्ट्रमन्त्री एन.पी.साउद,नेताहरू महन्त ठाकुर, सिके राउत,चित्रबहादुर केसी,प्रेम सुवाल,पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे,डा. प्रकाशचन्द्र लोहनी,प्रदीपकुमार ज्ञवाली,डा. बिमला पौडेल राई,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल,सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेललगायत सहभागी थिए ।
नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनुपर्ने, दुबै देशले एक–अर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने जस्ता सुझाव दिएका छन् ।
टिप्पणीहरू