सुवासको पूर्ति कसले गर्ला ?
चूडामणि कौशिक
केही समयअघिदेखि नै सुवास (सुभाषचन्द्र ?) नेम्वाङको अनुहारमा चमक देखिएको थिएन । के भइरहेको थियो त्यो सभामुखमा ह्याट्रिक गरिसकेको मान्छेका मुहारमा, पत्ता लगाउन गाह्रो थियो । सधैँ तर्कपूर्ण गर्न सक्ने, मिडियालाई निकै सजिलो मानिने र उत्तेजनाविहीन मानिस एकाएक किन सुक्दै गइरहेको छ, भेउ पाउन टाढाबाट हेरिरहेकाहरूलाई कठिन थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन लाग्दै थियो । पार्टीहरूमा कसले पाउला मुलुकको सर्वाेच्च पद भन्ने खुलदुली, जिज्ञासा प्रबल थियो । मधेस र महिलाबाट शीतल निवासमा पुगिसकेका छन्, अब पालो जनजातिको भन्नेहरू बेसी नै थिए । माओवादीमा सबै जना खुट्टा उचालेर बसिरहेका थिए किनकि उसबाट राष्ट्रपति भवनमा पदासीन कोही भएको थिएन । सबै दलले सो पदको महत्त्व बुझिसकेका थिए । नेपाली कांग्रेसले गृहकार्य गरिरहेको थियो । मानबहादुर विश्वकर्मा, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल आदिको नाम आइरहेको थियो । एमालेमा ईश्वर पोखरेल, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, सुवास नेम्वाङ आदि । नेम्वाङको नाम मिडियामा जति चले पनि उनको नाम एमाले माथिल्लो वृत्तमा रत्तिभर नभएको भन्ने पनि भेटिए ।
प्रतिनिधिसभा विघटन भयो, दुई दुई चोटि भयो । नेम्वाङ कतै देखा परेनन् । तीन चार पटक प्रतिनिधिसभाका सभामुख, संविधानसभाका अध्यक्ष, नामी, इनेगिनेका प्रख्यात कानुनची कता गए, खोजी व्यापक भयो । केपी शर्मा ओलीका प्यारा हरिकृष्ण कार्की जस्तै उनी पनि गुमनाम पो भए । नेकपा विभाजन भयो, नेम्वाङको अत्तोपत्तो छैन । उनी दलमा सङ्गठन चलाएर बस्न सक्ने भन्दा पनि दललाई, सरकारलाई, संसद्लाई, राज्यलाइनै कानुनको व्याख्या आवश्यक पर्दाका अन्तिम रिसोर्ट थिए । संसद्मा सबैलाई मिलाउन सक्ने त थिए नै, पदभन्दा बाहिर रहेर पनि कानुनी तर्क मजाले दिन सक्ने सामथ्र्यका धनी थिए ।
अँ, उनी न्याम्म परिरहेका थिए । एमालेको भर्खरैको सिरहा पदाधिकारी बैठकमा सुवास पनि पुगेका थिए उपाध्यक्षका नाताले । उनी त्यहाँको मञ्चमा आसीन थिए तर पूरै नुन खाएको कुखुरा जस्ता, रुझेको बिरालो जस्तो, कान्तिहीन, चमकहीन । अनुहार सबै उडेको । हरे, के ती उनै सुवास थिए ? अनुमान गर्नै गाह्रो ।
प्रतिनिधिसभा विघटनपछि तिनका पक्षमा बोल्ने एमालेमा ओलीबाहेक को थिए र ? सबै नेम्वाङको मुख हेर्थे । उनमा भयङ्करको पीडा थियो । एउटा सच्चा तर्कको खानी कसरी बोल्न सक्थ्यो त्यो भयङ्कर विषादग्रस्त कदममा ? कसरी भन्न सक्थ्यो ऊ प्रचण्ड माधवले काम गर्न दिएनन्, अनि समृद्धिको सपना देखाउने देशवासीका प्रिय ओलीले बाध्य भएर विघटन गर्नुप¥यो भनेर ?
पार्टी, संसद्, देश, जनताका सपना सबै भड्खालामा परिरहेका थिए । ती जनताका प्यारा नेताले किन आफ्नो मुख फोर्न सकेनन् ओलीका अघि, “कमरेड, यो नकाम किन गर्नुभयो ? मैले अब पार्टी छाडेँ ।” ती अति नै काविल सभामुख किन भागे अन्धकारतिर विघटनका पक्षमा नबोलिकनै ? यता देशको मूल कानुन मर्न लाग्दै थियो, एक संविधानविद् बचाउन नलागी मौन थियो, भागिरहेको थियो जनताका सपनालाई मूर्त रूप दिन । सञ्जीवनी बुटी उहीसँग थियो, तर ऊ त्यसको उपयोग गर्न चाहँदैनथ्यो ।
सुनकाण्डमा उनको पार्टी संसद् अवरोध गरिरहेको थियो । सरकार सिआइबीमार्फत १०० किलो सुन (पछि ६०–६१) प्रकरणमा अनुसन्धान गरिरहेको थियो । त्यस काण्डका शङ्कास्पदहरू दिनदिनै जसो पक्राउ परिरहेका थिए, सरकार अपराध र अपराधीको चुरो पत्ता लगाउन उत्साहित भइरहेको थियो । जनता सरकारलाई समर्थन दिन सडकमा ओर्लिरहेको थियो तर सुवासको पार्टी विरोध गर्दै थियो सडकमा, संसद्मा । वाग्मती उल्टो बग्दै थिइन्, हरे, देशमा कानुन, संविधान मर्न लागिरहेको थियो । दुई तिन हप्ता नै कुर्लिरहेको थियो एमाले । उहिले उसले ५७ दिन संसद् अवरोध गरेको कुरा सही ठह¥याउँदै अझ पटक पटक अवरोध गर्नुपर्छ भन्ने ध्याउन्नामा थियो । यसअघि एमालेको माधवकुमार नेपाल समूहलाई मान्यता नदिओस् भन्दै संसद्मा उफ्रिरहेको थियो जबकि नेपाल समूह कुनै हालतमा एकाधिकारवादी, सङ्कीर्ण, भयङ्कर बदलाको भावनायुक्त ओलीसँग मिलेर बस्नै सक्दैनथ्यो ।
धुलिखेलमा सुवास एक दिन विस्फोटित भए, हुनैपथ्र्याे, तर निकै ढिलो, जति बेला देश रसातलमा पुग्न पुग्न लागिरहेको छ र थियो । संसद् विघटन नियमसङ्गत छैन भनिदिए उनले । मुटु मिचेर, हृदय कुँड्याएर उनी फुटे, पटक पटक जनताको प्रतिनिधिको बहस गर्ने थलो अवरोधले कहीँ पुग्न सकिँदैन । नेम्वाङले संविधान बनाउँदा नै संसद् अवरोध नगर्नेबारे गम्भीर छलफल भएको स्मरण गरे । प्रतिनिधिसभाका पूर्वसभामुख बोलिरहेका थिए, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन । राजनीतिक रूपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो । ” अँ, जुन बेला माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले राष्ट्रपतिमा आफ्नो दलका तर्फबाट कसैलाई सारेर जिताउने मनसुबामा लागेकै बखत उनको नामका सट्टा पोखरेलको नाम ओलीले माओवादी वृत्तमा छरिदिए । त्यहाँ पूर्वसभामुख, एमालेमा तर्कका भण्डार, जनजातिको छोराको नाम थिएन । जब दाहाल उछिट्टिएर कांग्रेसतिर गए र नयाँ गठबन्धन– चुनावकै बेलाको गठबन्धनतिर लागे, त्यहाँबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दलबाट, दक्षिणको दबाब वा इशाराबाट उम्मेदवार बन्दै थिए । अब हार्ने चुनावमा लडाइए नेम्वाङ । तैपनि जनान्दोलन, प्रजातान्त्रिक आन्दोलन, संसद्मा खेलेको आफ्नो भूमिकाको कारण आफूलाई नै विवेकी सांसदले चुन्ने विश्वास गर्दै लडे, लड्नैपथ्र्याे, भाग्न सकिँदैनथ्यो ।
चुनाव उनले हारे । अब फेरि त्यही पदमा लड्ने अवसर आउँथ्यो, आउँदैनथ्यो, उनी न्याम्म परे । पार्टीको भविष्य सुनिश्चित छैन, फेरि फेरि चुनाव लड्न पाइन्थ्यो, पाइन्नथ्यो, सुवासको उच्च पदको एक आकाङ्क्षा बिचैमा तुहियो । जनताका नेतालाई एक चुनाव हार्दैमा केही फरक पर्दैनथ्यो । उनी हृदयमा भयङ्कर ज्वाला बोेकेरै अस्ताए । उनको पार्टीले उनको आत्मालाई शान्ति दिन त्यो विशाल नेकपा ब्युँताउन लाग्छ कि लाग्दैन, कानुन र संविधानलाई मरिमेटेर संरक्षण गर्छ कि गर्दैन, प्रतिनिधिसभा विघटन गल्ती थियो भनेर एक पल्ट नेपाली जनतासँग माफी माग्छ कि माग्दैन ? पार्टीमा किनारीकृत हुनै लागेका, औचित्य सकिनै लागेका सुवासको निधन एक कानुनका विम्बको निधन, संविधानका प्रतीकको निधन, तर्क र सामञ्जयताको निधन । सत्य बोल्न उनले पनि सकेनन्, मनमा पीडा थियो, त्यो ओलीले बुझिहाले र पार्टी मूल प्रवाहबाट धकेलिँदै थिए जसरी भीम रावल, घनश्याम भुसाल लखेटिए ।
अब पनि उनको पूर्ति गर्न सकिन्छ, सकिने छ देश र जनतालाई समृद्ध बनाउन जनताको प्यारो भरोसा नेकपा ब्युँताएर, संविधानलाई बचाएर, विगतका गल्तीको पश्चात्ताप गरेर, पार्टीका इमान्दारर देशभक्त र क्रान्तिकारीहरूलाई स्थान दिएर, पार्टीका वरिष्ठ व्यक्तित्वहरूलाई यथोचित सम्मान दिएर । हार्दिक श्रद्धाञ्जलि बुद्धिको एक खानीलाई, कम्युनिस्ट पार्टीका सच्चा अनुयायीलाई ।
टिप्पणीहरू