श्रमिकको खबरदारीले मात्रै रुपान्तरण सम्भव हुने माओवादी नेताहरुको विश्वास
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जन्मदेव जैसीले माओवादी आन्दोलनलाई रुपान्तरण गर्न श्रमिकहरुले निरन्तर खबदारी गर्नुपर्ने बताएका छन् ।
'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान'अन्तर्गत अखिल नेपाल औद्योगिक संघले आज बालाजुमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । जैसीले भने, ‘हामी बिग्रिएकै हौं, तपाईँहरुको निरन्तर खबरदारीबिना रुपान्तरण सम्भव छैन ।’
श्रमिकको साथ र खबरदारीबिना पार्टी निर्माण सम्भव नहुने बताउँदै उनले सबै क्षेत्रका श्रमिकलाई एकीकृत भई दलाल, पुँजीवादविरुद्ध विद्रोह गर्नसमेत अपिल गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिति सदस्य रुपेश सिलवालले पनि मजदुर बिनाको पार्टी निर्माण हुन नसक्ने बताए । मजदुरहरु संगठित रुपमा निरन्तर लागिरहन उनको आग्रह छ ।
‘खबरदारी पनि गर्नुस्, माओवादीमा संगठित हुनुस्, अधिकारको लागि जुट्नुस्, अनि मात्र श्रमिक वर्गको भविष्य निर्माण हुन्छ,’ सिलवालले भने ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश ‘ख’ का अध्यक्ष सुजन लामाले माओवादी तलबाट नभई माथिवाट बिग्रिएकोले रुपान्तरण पनि माथिबाट हुनुपर्ने बताउँदै आफूहरु रुपान्तरणको भट्टीमा छिरिसकेको बताए ।
उनले भने, ‘श्रमिक जनता इमान्दार छन्, हामी सच्चिनुपर्छ । अनि जनताले विगतझैं फेरि साथ दिनेमा हामी विश्वस्त छौं ।’
कार्यक्रममा नेपाल औद्योगिक व्यवसायिक महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले मजदुर र राष्ट्रवादी व्यवसायी मिलेर मात्र वर्गीय दूरीलाई घटाउँदै आर्थिक रुपमा मुलुकलाई समृद्धितिर लैजान बल पु्ग्ने बताए ।
अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय उपाध्यक्ष रामजी मण्डलको संयोजकत्व र खड्गबहादुर लामाको अध्यक्षतामा भएको उक्त कार्य्रक्रममा धेरैले पार्टीको भूमिका र जनतासँगको सम्बन्धमा गर्नुपर्ने सुधारका विषयमा आफ्नो धारणा राखेका थिए ।
सयौं श्रमिकहरुको उपस्थित रहेको कार्यक्रममा माओवादीनिकट पर्यटन व्यवसायिक संगठनका नेता नवराज दाहाल, वडासचिव सुजता थापा मगर, महानगर सदस्य कविता बस्नेत श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
टिप्पणीहरू