'कोर टीम' खुलासा गर्ने ढाकालाई ठोस प्रमाण लिएर आउन ढकालको चूनौती

'कोर टीम' खुलासा गर्ने ढाकालाई ठोस प्रमाण लिएर आउन ढकालको चूनौती
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

आज विज्ञप्ति जारी गर्दै महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकालले बिना आधार र प्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायका साथ श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । पार्टीका कुनै पनि केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरेर पैसा मागेको ठोस प्रमाण लिएर आउन उनले श्रेष्ठलाई चुनौतीसमेत दिएका छन् ।  

‘राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पाटी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरेर कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भएपनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

ढकालले यस सन्दर्भमा हालसम्म भएका घटनाका विवरणहरु पनि जानकारी गराएका छन् । यसअघि डा.ढाकाकुमार श्रेष्ठले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सीसँग पार्टीको 'कोर टीम'लाई बुझाउन भनि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । 

सो सम्बन्धमा तत्कालै रास्व्पाको केन्द्रीय अनुसन्धान तथा आचरण समितिले श्रेष्ठसँग सोधपुछ गर्दा उनले मेडिकल व्यवसायीसँगको संवाद स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘स्पष्टीकरण दिने क्रममा उहाँले पार्टीले मलाई जोगाइदिनु पर्यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काई दिन्छु भनेर केन्द्रीय समितिलाई धम्काउनुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी पार्टीलाई धम्क्याएको अडियो र भिडियो पाटीसँग सुरक्षित रहेको छ ।’ 

रास्वपाले पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्याउने कुत्सित प्रयत्न नगर्नसमेत चेतावनी दिएको छ ।


 

टिप्पणीहरू