पोखरामा ‘तीज सांस्कृतिक महोत्सव’ धुमधामले मनाइयो

पोखरामा ‘तीज सांस्कृतिक महोत्सव’ धुमधामले मनाइयो

हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा पोखरामा तीनदिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले आयोजना गरेको ‘तीज सांस्कृतिक महोत्सव’ भव्य रुपमा हिजो सम्पन्न भएको हो । 

गण्डकी प्रदेशमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलनलगायतका कार्यक्रम समेटिएको थियो । भदौ २५ गतेदेखि लेकसाइडको कोमागाने पार्कमा भएको महोत्सवमा प्रदेशका ११ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता थियो । 

महोत्सवमा राधिका हमाललगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए । त्यस्तै, तीज गीत, दौड, महिला भलिबल, हाजिरी जवाफलगायतका प्रतियोगिता पनि गरिएको टेवानले जनाएको छ । सो क्रममा टेवानकी अध्यक्ष कमला गिरीले तीज कार्यक्रमलाई सरकारी सहयोगको सुनिश्चितता हुनुपर्ने बताइन् । 

अर्को वर्षको बजेट ल्याउँदाखेरि तीज कार्यक्रमलाई पनि समेटनुपर्नेमा उनको जोड छ । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापालगायतको ध्यानाकर्षण गराउँदै उनले भनिन्,‘आगामी दिनमा यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेर महिलाहरुको योजना, कार्यक्रम, उत्पादन र विकासशील सोचलाई बढावा दिऊँ ।’

त्यस्तै, वातावरणमन्त्री थापाले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । पोखराको पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माणलगायतको काम भइरहेको उल्लेख गर्दै उनले सबै सरोकारवाला निकाय गम्भीर भएर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने धारणा राखेका थिए । 

कोभिड महामारी र आर्थिक मन्दीले सुस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन टेवानले आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्, नाट्टा, टान, रेबानलगायतका संघसंस्थाको सहयोग तथा सहकार्य रहेको थियो ।
 

टिप्पणीहरू