यसकारण प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने, बेइजिङ्गमा द्विपक्षीय वार्ता

यसकारण प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने, बेइजिङ्गमा द्विपक्षीय वार्ता
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा नेपालको पूर्वाधार विकास,सीमा नाकाहरूको सन्चालन र कृषि,उर्जा,पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा चिनियाँ सहयोगबारे द्विपक्षीय छलफल हुने बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले दुबै भ्रमण फलदायी हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । आफ्नो चीन भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । 

'नेपाली प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने विश्वास लिएको छु', प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यस भ्रमणबाट नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग हुने सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।'

प्रधानमन्त्री प्रचण्ड भोलि शनिबार संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदै हुनुहुन्छ । महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेलगत्तै सेप्टेम्बर २२ अर्थात् असोज ५ गते उहाँ त्यतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङ्गचौ जाने कार्यक्रम छ । 

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै हाङ्गजाउ जानुपर्ने परिस्थिति बन्न गएको प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुभयो । यसअघि अमेरिकाबाट सिधै चीन जाँदा भ्रमणको महत्व घट्ने भएकाले कार्यतालिका सच्याउन प्रधानमन्त्रीलाई विज्ञहरुले सुझाव दिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले हाङ्गचौमा नै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही दिन म १९ औं एसियन गेमको उद्घाटन समारोहमा उहाँ सहभागी हुनुहुनेछ । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी लि छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको जनाइएको छ ।

त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको 'छोङछिङ्ग एकेडेमी अफ एग्रिकल्चरल साइन्स'लगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्न प्रधानमन्त्री त्यसतर्फ जानुहुनेछ । छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने भ्रमण तालिका रहेको छ ।
 

टिप्पणीहरू