अमेरिकाबाट प्रधानमन्त्रीको दुखेसो - सरकारलाई बद्नाम गर्न खोजियो

अमेरिकाबाट प्रधानमन्त्रीको दुखेसो - सरकारलाई बद्नाम गर्न खोजियो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा सरकार दृढतापूर्वक उभिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका उहाँले स्थानीय नेपाली पत्रकारसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । 

त्यसक्रममा प्रधानमन्त्रीले सुशासनका लागि सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको प्रष्ट पार्नुभयो । तर,सरकारलाई बदनाम गराउन सक्रिय एउटा गिरोहले गलत प्रचार गरिरहेको उहाँको दुखेसो छ । 

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाइने पनि बताउनुभएको छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई अनुरोध गरिएको जानकारीसमेत दिनुभयो । 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्ड हिजो न्यूयोर्क पुग्नुभएको हो । उहाँलाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए ।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्रीले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू