चीनविरूद्ध बत्तीसपुतलीमा भेला
गत साता चिनियाँ राजदूत छन सङविरूद्ध नाराबाजी गर्दै काठमाडौँमा जुलुस निकालेको राष्ट्रिय एकता अभियानले चीनको कूटनीतिक अभ्यासबारे अन्तरक्रिया गरेको छ ।
यो संगठनले आज काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा 'नेपाल-चीन सम्बन्ध : गैरकूटनीतिक अभ्यास' विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवलगायतले धारणा राखेको बताइएको छ ।
चिनियाँ राजदूत सङले केही हप्ताअघि भारतसँगको व्यापार घाटा कम गर्न नेपालले कृषि र जलविध्युतसम्बन्धी नयाँ नीति लिनुपर्ने धारणा राखेका थिए । उक्त अभिव्यक्तिलाई नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप भन्दै अभियानले राजदूत सङलाई फिर्ता पठाउन माग गर्दै आएको छ ।
सोहीअन्तर्गत आज अन्तरक्रिया कार्यक्रम गरेको यो संगठनले एमसीसी पास गराउन अमेरिकी मन्त्रीले नेपालका नेताहरुलाई फोन गरेर दिएको दबाब, भारतका लागि नेपाली राजदूतले दिल्लीबाट दिएको चीन विरोधी धारणाबारे भने केही बोलेको छैन ।
नेपालले चीनसंगको आर्थिक र राजनीतिक प्रभाव कम गर्दै भारतसँग परम्परागत सम्बन्ध कायम गर्नुपर्ने पक्षमा वकालत गर्ने राष्ट्रिय एकता अभियान तराई-मधेशमा क्रियाशील राजनीतिक संगठन हो ।
टिप्पणीहरू