सानो कुरा, धेरै सन्तुष्ट हुने स्वभाव
विकास र समृद्धि नखोज्ने र नचाहने कुन देशका जनता पो होलान् र नेपाली जनताले नखोज्नु ? तर हामीले खोजेको विकास र समृद्धि जापान, स्विट्जरल्याण्ड, अमेरिका र युरोपका देशको जस्तो होइन । खोजेको सुख पनि उनीहरूको जस्तो होइन । हामीले खोजेको सुख भनेको देशका कर्णधार भनेर चिनिने स–साना विद्यार्थीले झुण्डिएर खोला तर्दा तुइनबाट खसेर ज्यान गुमाउनुुुपर्ने अवस्था अन्त्य हुनु हो ।
सुत्केरी व्यथा लागेकी महिलालाई बच्चा जन्माउने स्वास्थ्य चौकी नभएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था नभए हुने थियो भन्ने हो । अर्थात् हाम्रो विकास र समृद्धिको चाहना र प्राथमिकता ठाउँ विशेषअनुसार फरक–फरक छन् । देशको एउटा भागका जनतालाई तुइनको ठाउँमा झोलुंगे पुल बन्नु नै ठूलो विकास भयो भन्ने अवस्था छ भने अर्को भागका जनतालाई सुरक्षित तरिकाले सुत्केरी हुन सकिने स्वास्थ्य चौकी बन्नु विकास भएको हुन सक्छ । विकास र समृद्धि सापेक्ष भूगोल सापेक्ष हुने नै भयो ।
काठमाडाैँका जनताको लागि विकास भनेको मेट्रो ट्रेन, वातानुकुलित नगर बस सेवा हुन सक्छ तर कर्णालीका जनताको निम्ति विकास भनेको पक्की सडक, पुलपुलेसा हुन् । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देश विकास र समृद्धिको चाहना र आवश्यकतालाई बुझेर कुरा गर्दा सबैलाई खुशी महसुुस हुनु बिल्कुल स्वाभाविक हो । तर, कोरा गफले प्रदान गरेको यो खुशी, पानीजहाज र चुच्चे रेलमा गएर यसरी ठोक्किन पुग्यो कि अहिले समृद्धि भन्ने कुरा कम्युनिष्टलाई उडाउने विषय बनेको छ ।
कम्युनिष्टको सरकारले देशको वस्तु अवस्थालाई ध्यानमा राखेर विकास र समृद्धिको कामलाई अघि बढाउन सकेको वा त्यसअनुसार काम गरिदिएको भए त्यही काम कम्युनिष्ट एकताको निम्ति मजबुत आधार बन्न सक्थ्यो । (नेकपा) आज तीन टुक्रा भएर सत्ताबाट गलहत्तिई एक अर्कालाई सत्तोसराप गरेर दिन काट्नुपर्ने अवस्थामा पुग्ने थिएन । कम्युनिष्टकै नेतृत्वमा देश अघि बढिरहेको हुने थियो । सत्ताप्रतिको अतिलिप्सा र अतिदम्भले सत्ताबाट मात्रै विमुख हुन परेन कि त्यसले देशमा दक्षिणपन्थी उभारलाई मलजल गरिरहेको छ । धरानको घटना र काठमाडाँैंको खुकुरी काण्ड यत्तिकै घटेको होइन ।
नेपाली जनता ठूलो अपेक्षा राख्ने मनोवृत्तिका होइनन् । सानै कुराले पनि धेरै खुशी हुने स्वभाव हो । सानै कुरामा पनि धेरै खुशी हुन सक्ने चरित्र गज्जबकै लाग्छ । रवि लामिछानेले खाडीतिर समस्यामा परेका केही युवालाई टेलिभिजनको पर्दामा ल्याएर त्यसबाट आफ्नो टिआरपी बढाउने व्यापारिक काम मात्रै गरेका थिए । तर यथार्थभन्दा धेरै पर रहेको उनको त्यो टिभी हल्लाले पनि जनताको मनलाई छोएछ । जनता फ्यान बने र जिताइदिए । बालेनको जितको आधार पनि ‘गरिबको चमेली’ भन्ने गीत नै हो । एमाले, माके र एकीकृत समाजवादी पार्टी ठेकेदारसँग ज्यालामा नमिलेका मान्छेजस्ता देखिए ।
यिनीहरूले छुद्र स्वार्थमा अल्झिएर आदर्श लक्ष्यलाई भुल्ने काम गरे । विकास र समृद्धि कसरी हासिल हुन्छ ? सुखी नेपाली, समृद्ध नेपाल कसरी बन्छ ? ओली प्रधानमन्त्री र अध्यक्ष बन्दा बन्छ कि ? प्रचण्ड बन्दा बन्छ कि ? माधव नेपाल वा झलनाथ खनाल बन्दा बन्छ कि वा यिनीहरू सबै एकापसमा मिलेर सामूहिक विचार र नेतृत्वमा पार्टी र सरकार चलाउँदा बन्छ ? यतिसम्म पनि नबुझ्ने भएपछि राजनीति, अर्थनीति, कूटनीति कसरी सही बन्छ र अघि बढ्छ ?
यसैभित्रका हामी स्वयंले भनिरहेका छौं, जनताले भनिरहेका छन् । मूल नेतृत्व जनताको नेता होइन, किसान र मजदुरको नेता होइन कि दलाल पुँजीपतिको हितैषी बनेर देखापरेका छन् । कम्युनिष्ट पार्टीको सरकारले शिक्षाको कुरा गरेको सुनिएन (शिक्षा मन्त्रीकै निजी स्कूल छ, कसरी गर्नु?) । स्वास्थ्य क्षेत्र सुधारको कुरा गरेको सुनिएन । किसानको कुरा गरेको सुनिएन । मल र बिउको कुरा गरेको सुनिएन । बरु चकलेट आयातमा पुँजीपतिहरूलाई फाइदा दिन करको रेट कसरी घटाउने ? पुस्तक आयातमा कर कसरी बढाउने भन्ने कुरामात्र चिन्ता गरेको पो देखियो त । यस्तो गरेर जनताको भरोशाप्रति घात गर्ने काम भयो । जे गरिन्छ परिणाम पनि त्यस्तै आउने हो । ओली किन बार्दलीमा पुगे अथवा राष्ट्रिय पार्टी पनि बन्न नसक्ने दलको नेता हुनुपर्ने अवस्था माधव नेपाललाई किन आइप¥यो भन्ने कुरा बुझेको दिनमा धेरै समस्याको समाधान निस्किनेछ ।
हामी नेपालीको निम्ति आजको दिनमा विकास के हो ? के कुरालाई विकास भन्ने ? हाम्रोनिम्ति विकास भनेको नहर निर्माण गरी सिञ्चाइको सुविधा दिनु विकास हो । उत्पादन भएका कृषिजन्य वस्तुलाई बजारसम्म पु¥याउन सडक निर्माण गर्नु विकास हो । स्वदेशी कच्चापदार्थमा आधारित साना उद्योग स्थापना गर्नु, ठूलो र धेरैभन्दा धेरै रोजगारी सिर्जना गरेर युवालाई काम दिनु विकास हो । देशले समृद्धि हासिल गर्ने बाटो पनि यही हो । हाम्रो दुर्भाग्य नै भन्नुपर्छ कि देशमा भएका सबैजसो उद्योग धन्दा या त बेचियो या बन्द भए तर एउटा पनि नयाँ उद्योग खुलेन । विकास भयो त ? भएन । विकास नभएपछि समृद्धि आउँदैन र जनता सुखी पनि बन्न सक्दैनन् । जनता कमजोर र दुःखी छन् अहिले पनि ।
हाम्रो शिक्षा त झन् कस्तो छ भने बेरोजगार उत्पादन गर्ने कारखानाभन्दा फरक पर्दैन । हाइस्कूल पास गरेर अगाडि पढ्न नचाहने वा नसक्ने विद्यार्थीले कुन क्षेत्रमा जाने र के काम गर्ने ? ब्याचलर पास गरेर नोकरीमा जान चाहनेले के जागिर खाने ? केमिस्ट्रीमा डिग्री पास गरेको के मास्टर बन्नलाई हो र ? यी सबै हुनुका अनेकौं कारण होलान् तर मूल कारण भनेको कम्युनिष्ट नेतृत्वको अक्षमता नै हो । दलहरूसँग कस्तो शिक्षा, कस्तो स्वास्थ्य, कस्तो कृषि, कस्तो उद्योग, कस्तो कूटनीति हुने हो भने समाजवादमा पुगिन्छ भन्ने कुराको खाका नै छैन । समाजवाद वा साम्यवाद के हो भनेर त नेतृत्वले पढेको रहेछ धेरै–थोरै तर के भयो भने समाजवाद हुन्छ र त्यो कसरी प्राप्त गरिन्छ भन्ने कुरा भने जानेका रहेनछन् ।
देशको प्रधानमन्त्री कम्युनिष्ट पार्टीको सदस्य, मन्त्रीहरू पनि कम्युनिष्ट पार्टीकै सदस्य, मुख्यमन्त्रीहरू र प्रदेशका मन्त्री कम्युनिष्ट पार्टीकै हुँदा शिक्षा सुधार्न, स्वास्थ्य प्रणाली सुधार्न, कृषि सुधार्न, उद्योग खोल्न, बाटो बनाउन, नहर बनाउन सजिलो हुने थियो । एकजुट भएर काम गरेको भए विकास हुन र नेपाली जनताको आजको दिनको समृद्धिको अपेक्षा पूरा गर्न कुनै समय लाग्ने थिएन । मूल कुरा एकताको हो । ओली कमरेडले दम्भ त्याग्दै बार्दलीबाट ओर्लिने, माधव कमरेडले इख नराख्ने र प्रचण्डले सत्तालिप्सा त्यागेर देखाउने हो भने अझै पनि एकता गर्न सकिन्छ । विगतदेखि हुँदै आइरहेका कमीकमजोरी हटाउने र समाजवादी अवधारणाअनुसार विकास र समृद्धिको लक्ष्यलाई अघि बढाउन सक्ने हो भने घोषित गन्तव्यमा पुग्न हामीलाई कुनै समस्या हुने छैन र लामो समय पनि लाग्दैन । तर उहाँहरू त सिंगो रोटीलाई टुक्राटुक्रा पारेर खोसाखोस गरिरहनुभएको छ ।
टिप्पणीहरू