सेनाभित्र प्रेम काण्डको अर्को श्रृंखला
नेपाली सेनामा केही समयदेखि विवाहत्तेर सम्बन्ध, पारपाचुकेलगायत भगौडाको संख्या निकै बढेको छ । एक जना विवाहित पुरुष मेजर र अविवाहित महिला मेजरबीचको प्रेम भने संगठनभित्र कारवाहीको विषय बन्न लागेको बुझिएको छ ।
‘केटा मेजर, केटी पनि मेजर, केटा विवाहित,’ स्रोत भन्छ, ‘केटी ४६ र केटा ४४ बेसिकका हुन् । उमेरचाहिँ केटाको ३८ र केटीको ३५ हाराहारी हुनुपर्छ ।’ अहिले ती दुईको माया–प्रेमको सम्बन्धलाई लिएर मुद्दा परेको बताइन्छ । लफडा बढ्दै गएकाले दुवैको जागिर धरापमा पर्नु स्वाभाविक हो । सेवा अवधिको हिसाबले पुरुषको पेन्सन पाउने समय हुन लागेको छ भने महिला मेजरको अझै केही वर्ष बाँकी रहेको बताइन्छ ।
सेनामा यस्तो लफडा धेरै भयो नि ? भनेर राखिएको जिज्ञासामा अवकाशप्राप्त एक जना जर्नेलले बताए, ‘खै किन हो जागिर हापेर हिँड्नेहरू उत्तिकै बढेका छन् । पारिवारिक लफडा झनै बढेको देखिन्छ । जागिर छाड्नेको संख्यासमेत अचाक्ली छ । वितण्डा मच्चाउनेहरू उत्तिकै देखिन्छन् । अरु त अरु एउटा ब्यारेकबाट अर्कोमा सरुवा हुनेबित्तिकै नयाँ घरजम गर्नेको बाढी नै आएको छ । खानपान र ग्लोबलाइजेसनको असर हुन सक्छ ।’
द्वन्द्वकालमा ज्यान जोगाउन भाग्थे भने अहिले ज्यान बनाउन जागिर छाड्नेको बाढी लागेको छ । ती अधिकारीका अनुसार पछिल्ला दिन अन्य क्षेत्रमा झैँ सेनाभित्र सेवा शुरु गरिसकेकाले पनि विदेश जाने सोच राखेको पाइन्छ । उमेर पुगेकाहरू र पाँच वर्ष सेवा गरेकाले प्रायः युरोप, अमेरिकामा गएर राम्रो जागिर पाउन थालेपछि उनीहरूले त्यताको सपना देखेको हुन सक्छ । यस्तो प्रवृत्ति पछिल्ला दिनमा फ्रान्सतिर बढी देखिन्छ । कतिपय त रुससम्म पनि हान्निएका छन् ।
टिप्पणीहरू