जनप्रतिनिधिलाई सडकको कुकुर भन्दा परर्रर ताली

जनप्रतिनिधिलाई सडकको कुकुर भन्दा परर्रर ताली

– अञ्जनकुमार 

कार्यक्रम थियो जिल्ला समन्वय समिति लमजुङले आयोजना गरेको ०७९/०८० को वार्षिक समीक्षा । आठै वटा पालिका, जिल्लास्थित सबै विकासे अड्डाहरूको प्रगति विवरण र आगामी योजनाबारे राखिएको सो कार्यक्रमका प्रमुख अतिथि थिए नेकपा एमालेका उपमहासचिव तथा लमजुङबाट निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङ ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे र दोर्दी गाउँपालिकाका अध्यक्ष युवाराज अधिकारीबाहेक सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश माननीयलगायत झण्डै सयको हाराहारीमा कर्मचारी थिए । अरुका प्रस्तुति सुनिसकेपछि आफ्नो पालोमा गुरुङले पालिका प्रमुखहरूको झाँको झारे ।

राजमार्गमा भुक्दै गुडिरहेका गाडीको पछाडि दौडने कुकुरभन्दा हाम्रा पालिका प्रमुखहरू फरक नदेखिएको भनेपछि कर्मचारी लाइनबाट तालीको वर्षा हुन थाल्यो ।

‘स्थानीय पालिका आफैँ सरकार हो । उसलाई संघीय कानुनसँग नबाझिने गरी ऐन बनाउने अधिकार छ । आजको पालिका हिजोको गाविसजस्तो हैन । तर, आज पनि सञ्चालन विधि उस्तै छ । हिजोकै जिल्ला परिषद् या गाउँ सभाकै पारामा चल्ने कि परिवर्तन हुने तपाईंंहरूकै हातमा छ । गुरुङले स्थानीय सरकार प्रमुखहरूलाई यसरी उक्त संज्ञा दिएका हुन् । 

क्व्होलासोथर, दोर्दी र दूधपोखरी गाउँपालिकाले बरु केही नयाँ सोच अगाडि सारेको देखियो । सुन्दरबजार र राइनास त पालिका भन्नलायक पनि देखिएनन् । आफ्नै पालिकाले प्रस्तुति गर्दै गर्दा अगाडिको रोमा बेंसीशहरका मेयर गुमानसिंह अर्याल र प्रदेश सभासद् भेषबहादुर पौडेलको छेवैमा बसेका राइनास नगरपालिकाका मेयर खड्कबहादुर गुरुङ घुर्न थालिसकेका थिए । 

जिल्ला समन्वयको हलमा बिहान ८ बजे शुरु भएको कार्यक्रममा यसरी घुर्दै निदाउने मेयरले के गर्लान् भनेर हँसीमजाको बाटो बनिहाल्यो । संघ र प्रदेश सरकारले दिएको बजेटसमेत बेरुजु र फ्रिज गराएको तर दैलो अगाडिको गौँडो खाल्डोसमेत नपुरिएको प्रमुख अतिथि गुरुङको आरोप थियो । गुरुङले आफू मुख्यमन्त्री हुँदा प्रदेशको २५ वर्षे योजना बनाएको र तीन वर्षमा नागरिकले स्मरण गर्ने काम गरेको दाबी गरे । 

‘एक मेघावाटसम्मको हाइड्रोपावर पालिकाले निर्माण गर्न सक्छ । उत्पादन बढाउने, स्वरोजगार सिर्जना गर्ने र आन्तरिक राजस्व वृद्वि गर्नतिर पालिकाहरूले योजना बनाउन पर्दैन ?’ गुरुङको प्रश्न थियो ।

एक पटक निर्वाचित भएपछि पाँच वर्ष तपाईंहरूलाई कसैले हल्लाउन सक्छ र ? यस्तो अवसरलाई सदुपयोग नगरेर भित्तामा सजिनका लागि मात्र के अर्थ छ र !
 

टिप्पणीहरू