सुवासका उत्तराधिकारी बन्लान् त सुहाङ ?

सुवासका उत्तराधिकारी बन्लान् त सुहाङ ?

इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । नेम्वाङको भर्खरै मात्र शुद्ध्याइँ (फजे) सकिएको छ । प्रतिनिधिसभालाई सभामुख देवराज घिमिरेले सो क्षेत्रको सांसद पद रिक्त भएको जानकारी गराएसँगै यहाँको निर्वाचन र उम्मेदवारबारे चर्चा शुरु भएको हो ।

०५६ सालदेखि नेम्वाङले निरन्तर विजय हासिल गर्दै आएका थिए । निधनपछि उनको कार्यभार पूरा गर्न कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाइनुपर्ने बताउन थालिएको छ । राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुजस्तै अधिवक्ता बनेका सुहाङ सुवासको उपयुक्त उत्तराधिकारी बन्न सक्ने तर्क गर्ने गरिएको छ । बाबुको बिँडो थाम्न सुहाङलाई उत्तराधिकारी बनाइनुपर्ने विचार पनि व्यक्त भइरहेका छन् ।

‘बाबुजस्तै शालिन सुहाङलाई पिताको बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानुपर्छ’ एमालेका एक जिल्ला नेताले भने । हिजो सुवासचन्द्र नेम्वाङलाई पनि पार्टीको तल्लो तहबाट संगठित नभई कानुन अध्ययन गर्दा गर्दै राजनीतिमा प्रवेश गराइएको थियो । नेम्वाङकै जस्तो सम्भावना र क्षमता सुहाङमा पनि देख्न थालिएको छ । सुहाङले बाबुको बाँकी कार्यभार पूरा गर्न पार्टीले विश्वास र वातावरण बनाइदिने प्रतिक्रिया दिएका छन् । यसले सुहाङमा पनि राजनीतिमा प्रवेश गर्ने सुषुप्त चाहना रहेको अड्कल गरिएको छ । 

हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकांक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् । विगतमा नेम्वाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेता आन्तरिक खेलकुदमा लागेका थिए । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेता बुद्धि खनाल र रविन्द्र सुवेदीको चर्चा चलिरहेको छ । यता नेपाली कांग्रेसबाट भने २०७९ को निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उठ्ने चर्चा छ । 
 

टिप्पणीहरू