खान नहुने औषधि

खान नहुने औषधि

सरकारले भर्खरै १०३ प्रकारको औषधि नखानु भनेर एउटा सूचना निकालेको छ । बजारमा खान नहुने खालको औषधि आएको भन्दै सरकारले ती औषधि नखान सूचना निकालेको रहेछ । सरकारले बजारबाट त्यस्ता औषधिहरू उन्मूलनै गर्ने अभियान पनि चलाएको छ ।

सरकारको सूचनाबाट थाहा हुन्छ कि अहिले बजारमा त्यस्तो पनि केही औषधि आएको छ जुन खानाले बिरामी हुन सक्छ । औषधि भनेको बिरामी निको हुनलाई खाने हो । तर हाम्रो बजारमा अहिले बिरामी बनाउने औषधि आइरहेको रहेछ । 

अनौठो बजार छ । हाम्रो बजारमा खानेकुरा यस्तो आइदिन्छ जसले भोक मेटाउने होइन अझ बढाइदिन्छ । डाक्टर यस्तो आइदिन्छ जसले बिरामीलाई निको होइन अझै बिरामी बनाइदिन्छ । सिंहदरवारमा यस्तो नेता आइदिन्छ जसले देश बनाउने होइन अझै बिगारिदिन्छ । देश वास्तवमै अनौठो छ ।

अब सरकारले औषधिमाथि प्रतिबन्ध लगाइदियो । सर्वसाधारण जनतालाई केही न केही । किनभने सरकारले अहिले जुन औषधिमाथि प्रतिबन्ध लगाइदिएको हो, जनतासँग त्यो औषधिसमेत खाने हैसियत छैन । औषधि नै खान नपाएर जनता मरिरहेका छन् । अब यस्तो अवस्थामा औषधि खाएर मर्नुभन्दा नखाएरै मरेको राम्रो हैन र ! कम से कम खर्च त बच्यो । कि कसो ?
 

टिप्पणीहरू