नेपाली नागरिकता लिएका भारतीय पक्राउ

नेपाली नागरिकता लिएका भारतीय पक्राउ

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्रेको छ । बिहारको चम्पारण जिल्ला १०, खरतरीका ५२ वर्षीय जग्गा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल उक्त आरोपमा समातिएका हुन् ।

उनले झुठो विवरण पेश गरी २०६३ सालमा रौतहटबाट नेपाली नागरिकता प्राप्त गरेको देखिन आएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अस्ति उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीको उनको साथबाट भारतीय आधारकार्ड फेला पारेको छ । जग्गाप्रसाद जैसवाल नाममा जारी भएको नेपाली नागरिकता र उक्त नागरिकताबाट लिइएको सवारी चालक अनुमतिपत्र र अन्य नेपाली कागजात पनि बरामद गरिएको छ । 

उनलाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय, रौतहट पठाइएको छ ।

टिप्पणीहरू