श्रीमान्लाई समेत झस्काउने यस्तो अपराध

श्रीमान्लाई समेत झस्काउने यस्तो अपराध
सुन्नुहोस्

बेञ्चबाटै आदेश आयो, ‘यो मान्छे अलिक खतरनाक नै छ, हिरासतमा राख्दा अलिक होश पुर्‍याउनुहोला !’

गैरीगाउँ, तीनकुनेमा भएको सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीका चालामाला बुझेपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश नै यसरी झस्किए । भदौ २९ गते त्यहाँको दिव्य सःमिलमा धारिलो हतियार प्रयोग गरी विशाल राईसहित चार जनाको सामूहिक हत्यामा संलग्न सिन्धुपाल्चोक, बाह्रबिसेका सञ्जय फरक शारीरिक क्षमता (बोल्न नसक्ने) का व्यक्ति हुन् । तर, बोल्न सक्ने र ‘टाठाबाठा’ भनिनेहरुको भन्दा पनि अब्बल क्षमताको हुँदा प्रहरीदेखि न्यायाधीशसम्म त्राहिमाम छन् ।

उनले त्यसदिन एउटा मान्छे मारेपछि भाग्न पनि सक्थे तर अरु निर्दोषलाई पनि छप्काए । इजलासमा सोधियो, ‘किन त्यस्तो गरेको ?’ उनले भने, ‘पुलिसलाई भन्छु ।’ उनले मारेका मान्छे बोरा र काठले छोपछाप पारेर लुकाए, शौचालयको धारानिर लगेर खुकुरीमा लत्पतिएको रगत पखाले । उनी अपराध गर्ने मात्रै हैन, अपराधको व्यवस्थापनमा पनि उत्तिकै चलाख पाइएका छन् । प्रहरीले अहिले ज्वाइँलाई सरह माछा, मासुसहित भनेजस्तो खानेकुरा दिएर एक्लै थुनुवा कोठामा राखी उनको पृष्ठभूमि हेर्दैछ । उनीसँग प्रहरी र अदालतले सांकेतिक भाषाका दोभाषेमार्फत बयान लिइरहेको छ । उनीबाट यसअघि अरु २–३ जना मारिएको प्रारम्भिक सूचना प्रहरीलाई हात लागेको छ । उनी आफैं पनि अंग्रेजीमा लेखेर जवाफ दिन सक्छन् । उमेर २२ वर्ष, पढेको जम्मा १२ कक्षा, क्षमताचाहिँ एमए गरेजत्तिको !उता, त्यत्रो हल्लिखल्लीका साथ मीटरव्याज पीडितलाई न्याय दिन कानुन बनाइयो । तर, त्यही कानुन कस्तो भयो भने, पीडकले पीडितलाई र पीडितले पीडकलाई पालैपालो दुःख दिने ! 

मानौं, एउटा मान्छे चेक बाउन्स मुद्दामा थुनियो । ऊ निश्चित दिनपछि धरौटीमा छुट्ने नै भयो । अनि, त्यसपछि जसले उसलाई थुनाएको हो, त्यसविरुद्ध अर्को जाहेरी दिने भयो, मीटर व्याजमा † अर्थात्, हिजो बाउन्स चेकमा मुद्दा चलेको मान्छेले बदला लिन मीटर व्याजमा मुद्दा हालिदिने सिलसिला बढेपछि ‘न्याय’ का लागि जारी गरिएको कानुनले न्याय हैन, प्रतिशोधको श्रृंखला बढाएको छ । अहिले देशभरका प्रहरी कार्यालयमा मुद्दाको स्थिति हेर्दा आर्थिक अपराधअन्तर्गत बैंकिङ कारोबार र सहकारी ठगीका घटना बढी छन् । 

त्यस्तै, कल सेन्टरका नाममा हुने ठगीमा विदेशी नागरिक संलग्न हुँदै आएकोमा अब नेपाली नै सक्रिय हुन थालेका छन् । कीर्तिपुरमा एक २२ वर्षीय युवकले कल सेन्टर खोलेर ठगीधन्दा चलाएको पाइएपछि निजलाई समातिएको छ ।

टिप्पणीहरू