सेनाभित्र जे गर्न पनि सहुलियत

सेनाभित्र जे गर्न पनि सहुलियत
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि भदौ अन्तिम साता सहायक रथी यमबहादुर अधिकारीको गुपचुप तीन वर्ष पदावधि थप भयो ।

मन्त्रिपरिषद् बैठकबाट भएको उक्त निर्णय बारे असोज ४ गते मात्र जानकारीमा आयो । त्यसैमा पनि सरकारको प्रवक्ता रेखा शर्माबाट नभएर सेनाबाटै सूचना थाहा पाउनुपर्ने विडम्वनापूर्ण अवस्था सञ्चारमाध्यमले व्यहोर्नुपर्‍यो । अधिकारी शान्ति प्रक्रियामार्फत समायोजन भएर सेनामा कार्यरत व्यक्ति हुन् । गुपचुप पदावधि थपले संशयसँगै अनेक प्रश्न उत्पन्न गरिदिएको छ । सैनिक ऐन, २०६३ अनुसार मन्त्रिपरिषद्बाट सेनाका उच्च अधिकृतहरूको पदावधि थप हुनु सामान्य अवस्था हो । प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्ले सहायक रथीको पदावधि ३ वर्ष थप्नसक्छ । तर यहाँनेर सरकारबाट निर्णय सार्वजनिक नगरी पदावधि थप गरिएको पत्र गुपचुप जंगी अड्डामा पठाइनुले शंका गर्ने ठाउँ मिलेको हो । २०६९ साल चैत ३० मा लडाकुको समायोजन हुँदा अधिकारी महासेनानी पदमा नियुक्त भएका थिए ।

त्यतिबेला एक हजार तीन सय ३३ माओवादी लडाकु सिपाहीदेखि महासेनानीसम्मका पदमा नियुक्त भएका थिए । तीमध्ये धादिङका अधिकारी उच्च पदमा नियुक्त हुने एक मात्र पात्र हुन् । उनी २०७६ असोज १ गते सहायक रथी पदमा बढुवा भएका थिए ।

अधिकारीले ‘हायर कमाण्ड’ लगायत १ तारे जर्नेल पदका लागि आवश्यक कुनै पनि तालिम लिएका छैनन् । ऐनमा पदोन्नति हुनका लागि सफलतापूर्वक गण कमाण्ड गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । यतिमात्र नभै स्टाफ कलेजसमेत उत्तीर्ण हुनुपर्छ । गुल्मपति, स्टाफ अधिकृत तालिम, प्लाटुन कमाण्डर्स व्याटल तालिम, कमाण्डो, जंगल वारफेयर गर्नुपर्छ । यसका अतिरिक्त ८१ मिलिमिटर मोर्टार, मिडियम मेसिनगन, प्रबन्ध, रेजिमेन्टल सिग्नल अफिसर, इञ्जिनियर युवक अधिकृत, सिग्नल युवक अधिकृत, इन्ट तथा स्टाफ अधिकृत, लेग सरहका तालिम, कम्व्याट अनिवार्य मानिन्छ । अझै यी तालिम युवा अधिकृत अर्थात् सहसेनानी पदसम्ममा रहँदा पूरा गरिसकेको हुनुपर्छ । यीबाहेक नोकरी अवधि र वार्षिक नेकेवदी, मेडिकल रिपोर्टलगायतका सिफारिसहरू अनिवार्य मानिन्छन् । बढुवा समितिको सिफारिससहित थप आन्तरिक प्रक्रिया पनि हुन्छ ।

विज्ञहरू सामान्यतः विशेष बढुवा भएका सैनिक अधिकारीहरू सैनिक निकायको नेतृत्व दिन–लिन अयोग्य हुने बताउँछन् । अधिकारीको पहिलो चारवर्षे पदावधि गत असोज १ मै पूरा भइसकेको थियो । उनले नियुक्ति हुने बेला एक पटकका लागि भनेर सहायक रथीको थप पद सिर्जना गरी ‘विशेष बढुवा’ पाएका थिए ।

यसबारे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि प्रश्न उठिसकेको छ । वास्तवमा सेनाको नियमित बढुवा प्रक्रियाविपरीत बिशेष दरबन्दी खडा गरि उनको बढुवा गर्ने तत्कालीन ओली सरकारको निर्णय नै विवादास्पद थियो । अहिले आएर पदावधि थपको विषयमा सरकारले शान्ति प्रक्रियालाई देखाएर ‘फेस सेभिङ’ गर्न खोजेको देखिन्छ ।

सामान्यतया सहायक रथी दर्जाको कार्यकाल चार वर्षको हुने प्रावधान मिचिएको विषयमा खड्का स्वयम् निरुत्तरित छन् । जंगी अड्डाबाट जारी ‘प्रेस नोट’ मा ‘पदावधि थपसम्बन्धी नियमित प्रक्रियाअनुरूप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको हो’ भनेर गोलमटोल प्रष्टीकरण दिइएको छ । तर सैनिक ऐन २०६३ र सैनिक नियमावली २०६९ले पदावधि थपको निर्णयहरूलाई चिन्दैन । एकाथरी कानुन व्यवसायीले निर्णय उल्ट्याउन सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दिने तयारीसमेत गरेका छन् ।

टिप्पणीहरू