कोशीमा आफूलाई हराउन नेतृत्व तहबाटै षड्यन्त्र भएको एमाले नेता ढकालको दावी, विभेद नसहने चेतावनी

कोशीमा आफूलाई हराउन नेतृत्व तहबाटै षड्यन्त्र भएको एमाले नेता ढकालको दावी, विभेद नसहने चेतावनी
सुन्नुहोस्

नेकपा एमालेका नेता विनोद ढकालले पार्टीको कोशी प्रदेश अधिवेशनमा नेतृत्व तहबाटै चरम गुटबन्दी भएको गुनासो गरेका छन् । अध्यक्षमा पराजित उनले घेराबन्दी गरेर आफूलाई हराइएको आरोप पनि लगाए ।  

मंगलबार सम्पन्न अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएका ढकालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा लाग्ने कार्यकर्ताहरुलाई नेतृत्व तहबाट डर, त्रास र धाकधम्की दिइएको दाबीसमेत गरेका छन् । निर्वाचनको निष्पक्षतामा पनि प्रश्न उठाउका उनले नेताहरुले घेराबन्दी, गर्दै कार्यकर्तालाई थर्काउने र फकाउने काम गरेको जिकिर गरे । 

उनले भने, ‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन, आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी गर्नसमेत भ्याउनुभयो ।' 

यद्यपि चुनावी परिणामलाई स्वीकार गर्ने र निर्वाचित कमिटीलाई आफ्नो साथ् र सहयोग रहने बताएका ढकालले आफूलाई मत हाल्ने नेता-कार्यकर्तालाई विभेद गरिएमा भने सह्यै नहुने चेतावनी दिएका छन् । 

'प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै मतदानमा संलग्न हुने,म प्रचारमा संलग्न भई भोट माग्ने, र विजयी गराउने उद्धेश्यबाट अहोरात्र खट्ने सबै नेता, कार्यकर्ता, अग्रज तथा सहयोद्धा कमरेडहरुप्रति आभार व्यक्त गर्दछु', उनले भनेका छन्, 'उहाँहरुले पार्टीलाई गतिशील र शसक्त बनाउने उद्धेश्यले नै मलाई भरोशा दिनुभएको थियो भन्ने कुरा मैले बिर्सने छैन । आगामी दिनमा उहाँहरुप्रति कुनै भेदभाव वा आग्रह नराखी कामको जिम्मेवारी दिन र पार्टी काममा उहाँहरुको योगदानको सदुपयोग गर्न नेतृत्व समक्ष आग्रह पनि गर्दछु । '

भेदभावपूर्ण व्यवहार भएमा आफू ती कार्यकर्ताको पक्षमा उभिने खुला चुनौती दिएका उनले अगाडि भने, 'त्यस्तो व्यवहार भएमा विभेदमा परेका कार्यकर्ताको संरक्षणका लागि नैतिक रुपमा आवाज उठाउनु पर्ने हुन्छ ।'

नेता ढकालले हिजो भएको शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रतिद्वन्द्वीको हैसियतमा बोल्न नदिइएकोमा पनि गुनासो गरेका छन् । औपचारिक रुपमा मञ्चबाट बधाई दिन नपाएकाले पत्रकार सम्मेलन उनले बताए ।

टिप्पणीहरू