बाबुरामले माओवादीसँग एकता नगर्ने, आफ्नै खुट्टामा उभिने घोषणा
नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच पार्टी एकता नहुने भएको छ । माओवादी केन्द्र सत्ता केन्द्रित राजनीतिमा लागेकाले एकताको सम्भावना नरहेको सो पार्टीको पछिल्लो कार्यकारिणी समिति बैठकले निष्कर्ष निकालेको हो ।
पार्टीका प्रथम अध्यक्ष डा. बाबुराम भट्टराईले हिजो सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी केन्द्रले संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाए । पार्टी एकताका लागि आफ्नो पार्टीले पठाएको ९ बुँदे प्रस्तावमाथि माओवादी नेतृत्वले छलफल नै गर्न नचाहेको पनि उनको दावी छ ।
‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ,’ बैठकको निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नै पार्टीको चिन्हबाट चुनाव लडेको समाजवादी पार्टीसँग एकता गर्न माओवादीले हालै सो पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरी पत्र पठाएको थियो । बाबुराम देश बाहिर रहेका बेला यादवलाई पत्र गएपछि सो पार्टीमा तरंग पैदा भएको थियो । त्यसलाई पनि बाबुरामले माओवादीले गरेको दाउपेचको राजनीति भनेका छन् ।
'माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रुपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ', विज्ञप्तिमा भनिएको छ।


त्यस्तै, आफ्नै संगठित शक्ति र जनाधार निर्माणमा जोड दिँदै आवश्यकता र सम्भावनाअनुसार विचार, नीति, कार्यक्रम मिल्ने पार्टी र समूहसँग मोर्चा, एकता, धुव्रीकरणका निम्ति पहल गर्ने पनि नेसपाको निर्णय छ ।
चार बुँदे निर्णयमा भनिएको छ,‘नेपाल समाजवादी पार्टी नयाँ युगको नयाँ आवश्यकताअनुसार देशमा अग्रगामी वैकल्पिक राजनीतिक शक्ति निर्माणमा प्रतिबद्ध पार्टी हो । पार्टी निर्माणको क्रममा हामीले आफ्नै संगठित शक्ति र जनाधार निर्माणमा मुख्य जोड दिँदै आवश्यकता र सम्भावनाअनुसार विचार, नीति, कार्यक्रम मिल्ने विभिन्न पार्टी र समूहसँग मोर्चा, एकता, धुव्रीकरणनिम्ति पनि पहल गर्दै आएको छौं ।’
त्यसैगरी, नेसपाले मुलुकमा धार्मिक र सामुदायिक सद्भाव कायम गराउन, चाडबाडको मुखमा चुलिँदै गएको मँहगी, कालोबजारी नियन्त्रण गर्न, भ्रष्टाचार र बिचौलियागिरीको अन्त्य गर्न, जनतालाई राहतको प्रत्याभूति दिलाउन र भूकम्पका कारण बझाङमा पुगेको क्षतिप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।
१५ देखि १७ असोजमा बसेको बैठकको निर्णयमा पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने पनि उल्लेख छ । महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ ।
टिप्पणीहरू