हाकिम ओसार्ने गुरुजीहरु झन् हैरान
बहुदलीय व्यवस्था पुनःस्थापनापछि दर्जन बढी प्रधानमन्त्री हाँक्ने माधव कार्कीजस्ता एक्ला ड्राइभर पनि थिए । अनि हामीजस्ता निरीह ड्राइभर पनि छौं जो सचिव/सहसचिव परिवर्तन हुनेबित्तिकै हुत्याइन्छौं । माधव सर ०४२ सालमा कृषि मन्त्रालयमा प्रवेश गरी ०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारीमा रहेर निवृत्त भइसक्नुभयो । जालझेल र बेइमानी नै सर्वेसर्वा भएको ठाउँमा इमान्दारीको कदर हुनु त परको कुरा, त्यही इमान्दारी र सोझोपनाको फाइदा उठाउँदै मन्त्रालयका केही ‘टाउके’ले गरेको दुव्र्यवहारको कहानी हो यो । अर्थात् देशको बागडोर सम्हालेका र देश चलाउने मन्त्रीदेखि सचिवहरूसम्मलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने मन्त्रालयका चालकको पीडाको कहानी छ यसमा ।
दश वर्षे सशस्त्र जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको लिबाङमा जन्मेर हुर्किएको हुँ । बाल्यकालमै टुहुरो बन्न पुगेँ । सात वर्ष हुँदा आमा बित्नुभयो, बाह्र वर्षको हुँदा बुवा यो धर्तीमा रहनुभएन । बुवा र आमाको काख र साथ गुमाएको मेरालागि आड, भरोसा, माया प्रेमको छत्र छहारी बन्नुभयो दाजुहरू । भन्न त भनिन्छ बुवापछिको बुवा भनेका दाजुहरू हुन् । ममाथि दुई जना दाजै हुनुहुन्थ्यो अर्थात् म घरको साहिँलो छोरा । बुवाको देहान्तपछि दाजुहरू घरबार छाडेर भारततिर भौंतारिन पुग्नुभयो र उतै रमाउन थाल्नुभयो । कान्छो भाइलाई पनि उतै लैजानुभयो । कान्छो भाइ कस्तो छ भन्ने अनुहार मात्र याद छ । सायद देखेँ भने पनि चिन्दिनँ होला । खै किन मानेन त्यो समयमा यो मन भारततिर भौंतारिन त थाहा छैन । त्यहीँबाट टुट्यो, दाजुभाइको सम्बन्ध । मनभरि सपना, झोलाभरि मीठो भविष्यको कल्पना बोकेर ०६२ सालमा राजधानी भित्रिएको हुँ ।
केही मन्त्रीका आसेपासे र हनुमानहरूले मैले पाउनुपर्ने पारिश्रमिकतासमेत पचाइदिएका छन् धेरै पटक ।
एउटा दुर्गम गाउँमा जन्मेर हुर्किएको मान्छे । बाल्यकालमा खासै ठूला सपना देखिएनन् । स्कूले शिक्षा अध्ययन गर्दै गर्दा १० वर्ष जनयुद्धको उद्गमस्थल रोल्पामा टिक्न सकिएन । अध्ययनलाई बीचमै थाती राखेर जनयुद्धले थिलथिलो भएको रोल्पा छाडी राजधानी भित्रिएको पनि दश वर्ष बितिसकेछ । अध्ययन टुट्यो । जागिरका लागि शैक्षिक प्रमाणपत्रलाई नै मुख्य मानिने राजधानी खाल्डोमा प्रवेश गरियो । तर, न हातमा थियो शैक्षिक प्रमाणपत्र न त थियो कुनै सीप । सशस्त्र जनयुद्धबाट बच्नका लागि राजधानी छिर्दा व्यहोरेको सास्ती र पीडाको बयान म शब्दमा गर्न पनि सक्दिनँ । दुःख–सुख गरी यही बीचमा सवारी साधन चलाउन सिकियो । सवारी चालकको अनुमति पत्र प्राप्त गर्दा जिन्दगीकै सबैभन्दा बढी उल्लासको दिन ठानियो ।
केही समय निजी र भाडाका सवारी साधन चलाएँ । यतै गरिएको अथक प्रयास र मिहिनेतको बाबजुद सरकारी नुनपानी खाने अहोभाग्य मिल्यो । झण्डै सात वर्षपछाडि ०६८ सालदेखि ड्राइभिङ पेशामा छिरें । सरकारी गाडी गुडाउन थालेको झण्डै दश वर्ष पुग्न थाल्यो । लामो समयसम्म गृहकै गाडी चलाएँ । बीचमा केही मन्त्री र सचिवको गाडी चलाउनुपर्दा मन्त्रालय मात्र परिवर्तन भयो । धेरै समयचाहिँ गृहकै उपसचिवदेखि सहसचिव÷ सचिवहरूलाई ओसारेँ । उनीहरूकै सेवामा अहोरात्र खटिएँ । यो बीच सरकारी ओहदामा रहेका अजीव/अजीव पात्र देखेँ । तिनका चुरीफुरी, रवाफ, हामीजस्ता भुइँमान्छेलाई गर्ने व्यवहार, सबैका नाम नओकलौं, दिलको कुनामा लेखेर राखेको छु । हामी निम्सरो मान्छे, गृहले जहाँ खटायो उहीँ जाने हो । अघिल्लो सरकारका उद्योगमन्त्री महेश बस्नेतदेखि शान्ता मानवीलगायत मन्त्री र सचिव, सहसचिव र उपसचिवको सेवा गरेँ ।
महेश बस्नेतलाई ९ महिनासम्म बोकेँ, शान्ता मानवीलाई साढे दुई महिना, यसका अलावा अरु पूर्वएमाले र पूर्व माओवादी निकट केही मन्त्रीको ड्राइभर बनेर सेवा गरेँ । यसरी सेवा गरिएका शासक, प्रशासकमध्ये केही मात्र श्रमिकको कदर गर्ने । एउटा श्रमिकले के खोज्छ ? काम गरेपछि श्रमको मूल्य, चित्त बुझाएरै काम गरिरहेको थिएँ । काममा कहिल्यै ठग्न जानिएन । तर, यहाँ नाम त उल्लेख नगरौं केही मन्त्रीका आसेपासे र हनुमानहरूले मैले पाउनुपर्ने पारिश्रमिकतासमेत पचाइदिएका छन् धेरै पटक । यही कुराको विरोध गर्दा जागिरबाट गलहत्याइएँ । दिनभरि श्रम गरी जहान बच्चा पाल्नुपर्ने हामीजस्ता भुइँमान्छेको तलबसमेत पचाइदिने मन्त्रीज्यूका स्वकीय सचिवबाट कस्तो सदाचारपूर्ण काम होला ? आफैं अनुमान लगाउनुहोस् । केही मन्त्रीका पिए कस्ता–कस्ता भने मन्त्रीज्यूले चढ्दै आएको गाडीमा उनीहरूलाई नै चढाउनुपर्ने रे ! उनलाई पनि झण्डावाल गाडी लिएर घरमा लिन/लैजान जानुपर्ने रे ! मन्त्री चढ्ने गाडी कसरी जहाँ पायो त्यहाँ मनमौजी मैले चलाउन सक्थेँ ! सक्दिनँ/हुँदैन भन्ने अड्डी लिन्थेँ । यही कारण उनीहरूको आँखाको तारो बनेको छु धेरैपटक ।
एक जना सचिव छन्, नाम नभनौं । ठूलो मान्छेको इज्जत जाला । त्यतिखेर म उपसचिवको गाडी चलाउँथें । गृहकै प्रांगणमा बसिरहेको थिएँ । सचिवज्यू आउनुभयो । नमस्कार टक्र्याएँ, फिर्ता गर्नुभएन । यो गाडी किन सफा नगरेको, किन फोहोर ? तपाईंको काम, कर्तव्य, अधिकार के हो भन्दै थर्काउनुभयो । कसको रिस ल्याएर मलाई पोखेको हो, ‘मेरो काम कर्तव्य के हो मलाई सिकाइरहनुपर्दैन सचिवज्यू भन्ने जवाफ फर्काएँ ।’ मेसिनरी सामान हो, सधैँ एकैनाश कहाँ रहन्छ र ? कहिलेकाहीँ गाडी बिग्रिन्छ । तिनै सचिव आरोप लगाउँथे आफैँले गाडीको नट खुस्काएर गाडी बिगारेछ । ए बाबा, खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्ला ?
म एउटा निमुखा मान्छे, जाबो एउटा ड्राइभरलाई हटाउन निजी सचिव, पिएदेखि मन्त्रालयका सचिवसम्म लागिपरेका छन्, धेरै पटक । यहाँ त श्रम–पसिना बेचेर खान्छु भन्दा पनि पाइँदैन रहेछ । बरु उल्टै जागिरे जीवनको दौरान धेरै पटक मेरो श्रम–पसिना मन्त्रीका पिएदेखि मन्त्रालयका सचिवसम्म मिलेर खाइदिएका छन् । श्रमको मूल्य खोज्दा मन्त्रीको गाडी चलाउनबाटै गलहत्याइदिएका छन् । यस्तै÷यस्तै आसेपासे, अरौटे भरौटेका कारण न हो इमान्दार र स्वच्छ छवि भएका मन्त्रीहरू विवादमा तानिने !
अहिले गृहमै फर्किएको छु । मलाई त केही छैन, आफू आधा पेट खाएर, ऋण नै गरेर भए पनि सन्तान पालौँला/पालेकै छु । एक जना सहसचिवको गाडी चालक बनेर सेवा गरिरहेकै थिएँ । उनी कुनै मालदार विभागको हाकिम बने । हाकिम बन्न सुटकेशमा पैसा बोकाएर मलाई नै मन्त्रीको घरमा पठाए । पैसा बुझाएर हाकिम भएका कर्मचारीले पैसा उठाउने धन्दा गर्ने नै भयो । श्रीमान् श्रीमती नै सरकारी सेवामा । उनकी श्रीमती उपसचिव । हरेक बेलुका द्वारिकाजदेखि सोल्टी होटलमा जमघट । कहाँबाट आउँछ त्यत्रो खर्च ? बिचौलियाहरू नै उनीहरूका लागि चाहिने खर्च जुटाउँथे । कहिले राति १२ बजे त कहिले १ बजेसम्म कुरेर बस्नुपथ्र्याे । खुशी भएको दिन पाँच/सात हजार गोजीमा हालिदिन्थे । उनका सबै बदमासी थाहा पाएपछि ६ महिनामै हटाए र करारका ड्राइभर नियुक्त गरेका छन् । कानुनतः सहसचिवसम्मलाई गाडी सुविधा हुन्छ । उपसचिवलाई गाडी दिने भन्ने कुरा सरकारले कहीँ लेखेको छैन । तर, श्रीमतीलाई सरकारी गाडी सुविधा दिएर अनेक नाममा लुट मच्चाएका छन् । यसरी हामी चालक पेलानमा छौँ । हाम्रो पीडा कसले सुन्ने ? छँदाखाँदाका स्थायी कर्मचारीलाई हटाएर करारका ड्राइभर किन राख्छन्, हाकिमहरू ? कारण यही हो । यस्तो प्रथा कसले सुधार्ने ? हामीजस्ता भुइँमान्छेले बोलेको कसले सुन्छ यहाँ ?
– गृह मन्त्रालयका एक सवारी चालक
टिप्पणीहरू