भूकम्प पीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

भूकम्प पीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितालाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि सदरमुकाम चैनपुरबाट उहाँले सो घोषणा गर्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्रीले घाइतेको सरकारले निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई तत्काल २ लाख दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले पीडित परिवारलाई तत्काल राहतस्वरूप १५ देखि २० हजार नगद उपलब्ध गराउने पनि उल्लेख गर्नुभयो । त्यस्तै, राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामानको व्यवस्थापन भैसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने पनि बताउनुभएको छ । 

भूकम्पबाट भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला र प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले हालसालै गएका थुप्रै भूकम्पहरूलाई जाेखिमकाे पूर्वसंकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्नसक्ने क्षमता विकासका लागि जोखिम ऑकलन न्यूनिकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अघि बढाइसकिएको र बझाङलगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत त्यसलाई विस्तार गरिने सो क्रममा जानकारी दिनुभयो ।

 

टिप्पणीहरू