कोशीमा पाँचौं मुख्यमन्त्रीको खोजी सुरु
-आषिका लम्साल
दोस्रो पटक कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त एमालेका हिक्मतकुमार कार्कीले आज दिउँसो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । तर आज बिहानसम्म उनलाई आफ्नो पार्टी बाहेक अन्य दलले समर्थन नगरेकाले उनले विश्वासको मत पाउने सम्भावना क्षीण छ ।
कुनै राजनीतिक चमत्कार भएमात्र उनले विश्वासको मत प्राप्त गर्नसक्ने छन् । तर त्यस्तो सम्भावना देखिँदैन । यसो भएमा कोशीमा १० महिनाभित्र पाँचौ सरकार बन्ने र नयाँ मुख्यमन्त्रीबारे चर्चा हुन थालेको छ ।
जम्मा ९३ जना सदस्य रहेको प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० जना छन् । उपसभामुखले सभा चलाउनुपर्ने भएकाले उनले मत दिन पाउने छैनन् । यसो हुँदा आज उनले ३९ मत मात्र पाउने अवस्था बनेको छ । अर्कोतर्फ एमालेको हालै सम्पन्न कोशी प्रदेश समितिको अधिवेशनमा भएको निर्वाचनको असर पनि संसदमा नपर्ला भन्न सकिँदैन ।
पहिले सत्तायात्रामा रहेका राप्रपाका छ जना सांसद रहेको राप्रपाले पनि कार्कीलाई विश्वासको मत नदिने जानकारी दिइसकेको छ । बहुमत नपुग्ने भएकाले राप्रपा तटस्थ बस्ने निर्णय गरेको बताइन्छ । विपक्षी गठबन्धनमा २९ सदस्य काँग्रेसका,१३ सांसद माओवादी,चार सांसद रहेको एकीकृत समाजवादी र एक जना मात्र सांसद रहेको जनता समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
सर्वोच्च अदालतको परमादेशबाट २२ भदौमा दोस्रो पटक चौथो मुख्यमन्त्री नियुक्त कार्कीले संसदबाट दोस्रो पटक पनि विश्वासको मत पाउन नसके कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार पाँचौं सरकार गठनका लागि प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आह्वान गर्नुपर्नेछ । यसरी गठन भएको सरकारले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा वा गठन भएको सरकारले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशमा मध्यावधि चुनावको अन्तिम विकल्प बाँकी रहने छ । त्यस्तोमा छ महिनाभित्र मध्यावधि निर्वाचनको घोषणा गर्नुपर्नेछ ।
कोशीमा एक वर्ष पनि नपुग्दै पाँचौ सरकारको सम्भावना बढेसँगै नयाँ मुख्यमन्त्रीको खोजी गर्न थालिएको छ । यसबीचमा एमालेबाट दुई पटक र काँग्रेसबाट दुई पटक मुख्यमन्त्री भइसकेका छन् । अब सबैले विश्वास गर्नसक्ने व्यक्ति मुख्यमन्त्रीमा खोजी गर्न थालिएको बताइन्छ ।
दोस्रो ठूलो दल भए पनि काँग्रेसका उद्धव थापा दुई पटक मुख्मन्त्री बन्दासमेत सफल हुन सकेका छैनन् । काँग्रेस नेतृत्वलाई राप्रपाले साथ नदिने भएकाले उसले मुख्यमन्त्री पाउने सम्भावना देखिँदैन । एकीकृत समाजावादीको तर्फबाट नेता राजेन्द्र राईले पनि आफूलाई दाबेदारको रुपमा प्रस्तुत गर्ने सम्भावना उत्तिकै छ ।
टिप्पणीहरू