भीम रावललाई आफ्नै ठाउँमा आउन निषेध !
-टेकसिंह धामी
नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै नगरिएको पाइएको छ। भोलि (आइतबार) देखि धनगढीमा शुरु हुने एमालेको प्रथम प्रदेश अधिवेशनमा उनलाई बोलाइएको छैन ।
अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन् । चितवन महाधिवेशनपछि एमालेको राजनीतिबाट किनारा लगाइएका रावललाई अहिले पनि पार्टीको कुनै जिम्मेवारी दिइएको छैन ।
अहिले गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ । एक पत्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए ।
उनले रावल राष्ट्रिय र केन्द्रीय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,सचिवहरु र स्थायी कमिटी सदस्यसहितका अन्य केन्द्रीय नेताहरु भने अधिवेशनमा सहभागी हुने उनको भनाई छ ।
रावललाई अधिवेशनमा नबोलाएर निषेध गरिएको उनी निकटस्थको आरोप छ । चितवन महाधिवेशनपछि एक पटकमात्र रावललाई पार्टीमा सक्रिय बनाउन ओली-रावल भेट भएकोमा त्यसपछि कुनै छलफल भएको छैन ।
टिप्पणीहरू