रात परेपछि एमालेमा उम्मेदवारको ताँती
एमाले उपत्यका विशेष प्रदेश कमिटी अधिवेशनको बन्द सत्र शुरु भएको छ । पार्टी मुख्यालय,च्यासलमा जारी अधिवेशनको बन्द सत्रसँगै नेतृत्व चयन प्रक्रिया थालिएको छ ।
साँझ परेपछि दरखास्त हाल्ने काम जोडतोडका साथ भएको छ । नेतृत्वको निम्ति अहिलेका अध्यक्ष प्रेम पराजुली र पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालवीच प्रतिस्पर्धा हुँदैछ ।
उपाध्यक्षमा विदुर कार्की निर्विरोध भइसकेका छन् । उनी जिफण्टका कमरेड हुन् । सचिवमा मिलन धरेल र चिरञ्जिवी पौडेलवीच प्रतिस्पर्धा हुने भएको छ ।
उपसचिवमा दुई जनाको निम्ति जितेन्द्र श्रेष्ठ,उर्मिला सुनुवार र रामकृष्ण खड्का गरी तीन जना भिड्दैछन् । श्रेष्ठ जिफण्ट अध्यक्ष विनोद श्रेष्ठका भाइ हुन् भने सुनुवार साविक उपसचिव र खड्का नुवाकोटे भएको बुझिएको छ ।
‘सदस्यमा उठ्ने थुप्रै छन्, एक जना प्रतिनिधिले बताए,‘पेशागत जिल्ला कमिटी क्षेत्रमा २८ जनाको निम्ति ६८ जनाको उम्मेदवारी परेको छ । निजामतीमा आठ जनाको निम्ति दोब्बरभन्दा बढीले मनोनयन दर्ता गरेका छन् ।’
उता लेखा आयोगको अध्यक्षमा लक्ष्मण खड्काले इच्छा राखेको बताइन्छ । उनी निजामतीकै हुन् भने सचिवमा भिड्ने मीरा श्रेष्ठ ललितपुरकी अडिटर हुन् ।
प्यानलको चर्चा हुन थालेपछि चन्द्र रिजालको लाइनको हिसाब खोजिएको छ । उनलाई बालकोट निकटस्थ नै भए पनि आशिर्वाद प्राप्त छैन । उनलाई निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालले बालकोट पुर्याएका हुन् । रिजाल ढकालको ज्वाईं भएकाले पनि बालकोट पुर्याउन पुण्य अघि सरेका थिए । अर्का आकांक्षी चार्टर्ड एकाउण्टेण्ट मोहनराज रेग्मी बालकोटबाट टिकट नपाएपछि चुपचाप बसेका छन् ।
टिप्पणीहरू