इजरायलको पछिल्लो अवस्थाबारे सिंहदरबारमा छलफल जारी
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्न सिंहदरबारमा बैठक बसेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा बिहान ९ बजेदेखि बसेको बैठकमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको र एक जना हराइरहेकोबारे छलफल भएको बताइएको छ ।
त्यसैगरी त्यहाँ रहेका हजारौं नेपालीको सुरक्षा,स्वदेश फर्कन चाहनेलाई सहजीकरण र मृतकको शव नेपाल ल्याउनेबारे आजको बैठकमा विस्तृत कुराकानी भएको छ । बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, गृहसचिव दिनेश भट्टराई,परराष्ट्र सचिव भरतराज पौड्यालको उपस्थिति रहेको छ ।
त्यसैगरी बैठकमा नेपाली सेनाका रथी सरोजप्रताप राणा,उपरथी ताराध्वज पाण्डे,नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई,सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललगायतको सहभागिता छ । हिजो बिहान पनि परराष्ट्र मन्त्रालयमा सोही विषयमा बैठक डाकिएको थियो ।
इजरायलको पछिल्लो अवस्थालाई ध्यानमा राखेर अमेरिकाले आधुनिक हतियारद्वारा सुसज्जित युध्दपोत, पानी जहाज र युध्दक विमानहरु त्यसतर्फ पठाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजैदेखि वायु सेनाका एफ १५,एफ १६ र ए १० युध्दक विमान पनि त्यसतर्फ पठाएको छ ।
त्यसैगरी सीभीएन ७८, सीजी ६०, डीडीजी ११६, डीडीजी ६१, डीडीजी ६४, डीडीजी ८० युद्धक विमान वाहक जहाजहरु पनि भूमध्यसागरतर्फ अघि बढिसकेको छ ।
टिप्पणीहरू