रविको सुशासनको नाराले, दुःख पाए साराले
२१ असोज आइतबारका दिन कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । पोखरास्थित सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएपछि उनी २५ भदौमा काठमाडौँबाट पक्राउ परेका थिए । पीडितले एक अर्ब ८ करोड ११ लाख रूपैयाँ फिर्ता माग गरेका छन् । अदालतमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई र उनका दाइ पूर्वअध्यक्ष भूपेन्द्र राईसँगै वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, वर्तमान सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङलगायतविरुद्ध मुद्दा दर्ता छ ।
पोखरासँगै रम्तेल समूहविरुद्ध चितवन, पर्सा र बुटवलमा पनि उजुरी छ । रम्तेलसहित गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरूपयोग गरेको उजुरी प्रहरीमा छ ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था यही समूहको हो । यी विभिन्न सहकारीमार्फत यो समूहले १६ अर्ब संकलन गरेर दुरूपयोग गरेको छ । अहिले सबैको प्रश्न छ, यति ठूलो रकम यो समूहले कता लग्यो त ? यसको उत्तर थाहा पाउन ग्यालेक्सी टेलिभिजन फोर के सञ्चालिनमा गरेको तामझामबाट शुरु हुन्छ । यसको मुख्य संरक्षक हुन् स्वतन्त्र पार्टीका अध्यक्ष सांसद रवि लामिछाने ।
नेपालकै अत्याधुनिक टेलिभिजन भनेर सञ्चालित ग्यालेक्सी टेलिभिजन फोर टेलिभिजन सञ्चालनमा मात्रै ३ अर्ब बढी खर्च गरिएको थियो । जीबी राई र कुमार रम्तेल रवि लामिछानेको फिल्ड मार्शल जस्तै थिए । आर्थिक जोहो यी दुई भाइले गर्ने, रविले प्रशासन र बाहिरी माहोल हेर्ने जिम्मा लिएर यो धन्दा थालेका थिए । तर, अहिले जिबी फरार छन् । कुमार जेलमा । कानुनी कागजमा आफू नरहेर चलाखी गरेका रवि भने सुशासनको नारा दिँदै हिँडेका छन् ।

यसरी गरियो खर्च
११ फागुन २०७७ मा काठमाडौंस्थित मेरियट तारे होटेलमा भव्य कार्यक्रममार्फत लामिछानेले ‘ग्यालेक्सी टेलिभिजन फोर के’ सञ्चालनमा ल्याउने घोषणा गरे । प्रबन्ध निर्देशकको रूपमा टेलिभिजन सञ्चालन घोषणा गर्दा रविले भनेका थिए, ‘जनताको आवाजलाई समेट्न टेलिभिजन शुरु गर्न लागेको हुँ ।’ यसको अध्यक्ष थिए, उनै जिबी ।
१५ असोज २०७७ मा काठमाडौंकै अर्को तारे होटल हायात रिजेन्सी टेलिभिजनको औपचारिक शुभारम्भ गर्दा रविले उसैगरी भनेका थिए, ‘म जनताको आवाज हुँ ।’ स्रोतका अनुसार टेलिभिजन सञ्चालन घोषणा, आरम्भ र यसको तयारीमा मात्रै रवि र जीबीले करिब २० करोड खर्च गरेका थिए । बालुवाटारमा भव्य कार्यालय बनाएका थिए । टेलिभिजनबाटै रविले करिब ५ करोडको गाडी किनेका थिए । कार्यालय निर्माण, सवारी साधन र उपकरण खरिदमा करिब १ अर्ब खर्च गरिएको थियो । तर यो पैसा भने न त्यो रविको थियो, न त जीबीको नै ! रविले भनेका जनताको पैसा थियो त्यो । सहकारीमा दैनिक सय÷पाँच सय जम्मा गरेको पैसा उनीहरूले मनपरी खर्चेका थिए । सहकारी नेटवर्क खडा गरी सर्वसाधारणबाट संकलित १६ अर्ब उनीहरूले मनपरी भोगचलन गरेका थिए । यसरी सहकारी नेटवर्क खडा गरेर पैसा संकलन गर्ने मास्टर माइण्ड हुन्, गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष र रम्तेल हुन् । जो रवि र जीबी दुबैको फिल्ड कमाण्डर मानिन्छन् ।
तीन वटा सहकारी संस्थामा जीबी आफैंँ अध्यक्ष छन् । बाँकी ४ वटाको अध्यक्ष कुमार रम्तेल । सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । तर, यो ऐन विपरीतले काम गरेका छन् । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, उपत्यकाबाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था यो समूहले सञ्चालन गरिरहेको छ ।
रविले टेलिभिजनमा आरम्भ गर्दा ‘जनताको आवाज हुँ’ त भनेका थिए । तर, उनीहरूले त्यही गरिब जनताको पैसा मनपरी खर्चेर अहिले कुनै पनि सहकारीबाट बचतकर्ताको पैसा दिन सकेका छैनन् ।

अर्को धन्दा अवैध कलबाइपास र नेटवर्किङ
उनीहरूले जनताको पैसा ‘ग्यालेक्सी टेलिभिजन फोर के’ टेलिभिजनमा मात्रै होइन अवैध कलबाइपास र नेटवर्किङ व्यवसायमा पनि खर्चिरहेको तथ्य भेटिएको छ । उनीहरूले नेचर हब्र्स नेपालको नामबाट नेटवर्किङ गरेर प्रत्यक्ष वस्तु बिक्रीको अनुमति लिएका छन् । कुमार तामाङ्ग अध्यक्ष रहेको नेचर नेष्टले उत्पादन गरेका सामग्री नेचर हर्ब इन्टरनेशनलबाट बेच्ने गरिएको छ । यसको ५१ प्रतिशत उनै रम्तेलको नाममा छ । यसको सिइओ उनकी श्रीमती कविता रम्तेल हुन् ।
शंखमूल काठमाडौंबाट कारोबार गरिरहेको उक्त कम्पनीलाई विभागले २०७७ असार १ गते अनुमति दिएको छ । स्रोतका अनुसार यसले बेच्ने सामग्री गुणस्तर विपरीतका छन्् । पुराना सामग्रीहरूलाई नयाँ प्याकेजिङ र स्टिकर लगाएर बेच्ने गरिएको नेचर नेष्टका एक कर्मचारीले बताए । स्रोतका अनुसार रम्तेलले नेपाल गुणस्तर तथा नापतौल कार्यालयसँग सेटिङ मिलाएका छन्् । गुणस्तर हेर्ने कम्पनीले नेचर नेष्टको गुणस्तरप्रति आँखा चिम्लिएको छ् ।
नेचर हब्र्सलगायत कम्पनीले विभिन्न तहमा नेटवर्क खडा गरी अवैध मार्केटिङ धन्दा चलाउँदै आएको छ । यसको शुरुमा ११ हजार ७ सय रूपैयाँ तिरेपछि नेटवर्कमा आबद्ध हुन पाइन्छ । त्यसपछि जति सदस्य बढायो उति तह बढाइन्छ । ‘सिल्भर प्लान’, ‘गोल्ड प्लान’, ‘डाइमण्ड प्लान’ ‘सुपर डाइमण्ड प्लान’ स्किम बनाइएको छ भने सदस्यता बढाएअनुसार प्रहरीको जस्तै फुली प्रणाली राखिएको छ । जस्तै अन्नपूर्ण स्टार लिडर, मकालु स्टार लिडर, सगरमाथा स्टार लिडर ।
नेचर हब्र्स र नेचर नेस्ट कम्पनीको नेपालका अतिरिक्त सिंगापुर, मलेसिया, भारत, युएई, हङकङ, कतारमा नेटवर्किङ जालो छ । नेचर नेस्टले चिया तथा सौन्दर्य प्रशोधनका सामान उत्पादन गर्ने र नेचर हब्र्सले नेटर्किङमार्फत विभिन्न स्किममा बेच्ने गरेको छ । स्रोतका अनुसार यसका अध्यक्ष रम्तेलले भारतको मुम्बईमा राम्रो सम्बन्ध बनाएका छन्् । कतिपयले उनी भारतको विवादास्पद समूहसँग आबद्ध रहेको आशंका पनि गरेका छन् । त्यही सम्बन्ध र समन्वयले अहिले नेपालबाट उनले अवैध कलबाइपासको धन्दा गरिरहेको स्रोतको दाबी छ । रवि र जिबीको टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’को आडमा उनकै योजनामा अवैध कलबाइपास सञ्चालन भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनले कलबाइपासको तीन वटा शक्तिशाली उपकरण भिœयाएका छन्् ।
सिआइबीमा बारम्बार रविको फोन
स्रोतका अनुसार सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरूपयोग गर्दै नेटवर्किङ व्यवसाय सञ्चालन भएको समाचार आएपछि सर्वसाधारणले प्रहरीमा उजुरी दिए । प्रहरीमा उजुरीपछि यसलाई रोक्न रवि आफै सक्रिय भएका थिए ।
टिप्पणीहरू