भीम रावलको आडमा झपटको बार्गेनिङ, उपसचिवको रटान !

भीम रावलको आडमा झपटको बार्गेनिङ, उपसचिवको रटान !
सुन्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीमबहादुर  रावललाई देखाउँदै नेता झपट रावलले उपसचिव पदमा बार्गेनिङ गरेको आरोप लागेको छ । झपटकै उक्साहटमा अध्यक्षमा उम्मेदवारी दिएका संविधानसभा सदस्य तथा अछामका पूर्व अध्यक्ष भरत साउद उम्मेदवारी फिर्ता लिन तयार भएको बेलामा रावलले दबाब दिएको एक नेताले बताए ।

रावलले भीम रावलको कोटाबाट भन्दै उपसचिवमा साउदकै प्यानलमा रहेका कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेका छन् । उनले सचिव पदका उम्मेदवार रतन रेग्मीलाई पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिएको अर्को पक्षको आरोप छ ।

संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारको उम्मेदवारी यथावत् रहने बताइरहेका छन् । रावलले अध्यक्षका उम्मेदवार साउद र सचिव रेग्मीको उम्मेदवारी फिर्ता लिने हस्ताक्षरसहितको फारम आफ्नो खल्तीमा राखेर नेताहरूलाई धम्क्याएको बताइन्छ । यस्तै बार्गेनिङ गर्न रावल पक्षले नौ वटै जिल्लामा यसअघि प्रतिनिधिमा छनौटमा समेत भागबन्डा खोजेका थिए ।

सोही कारण सहमतिको प्रयासले अन्तिम रूप लिएको छैन भने निर्वाचन प्रक्रिया लम्बिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अछामका कृष्णप्रसाद जैसीको नाममा सहमति गर्नेगरी नेताहरूले कमल तिमिल्सिना र वचनबहादुर सिंहको उम्मेदवारी फिर्ता गराएका छन् ।

नेता भीम रावल निकट मानिने साउदले उम्मेदवारी फिर्ता लिए पदाधिकारी सर्वसम्मत चयन हुनेछन् । त्यसका लागि संस्थापन पक्षले उपसचिव साउदलाई दिनुपर्नेछ । संस्थापन पक्षका नेताहरू साउदबाट आएको प्रस्तावका विषयमा छलफलमा जुटेका छन् ।

तर यता झपटले भने बार्गेनिङ नभएको र सबै पदाधिकारीमा सहमति भइसकेको बताए । पदाधिकारीसहितमा सहमति भएकाले केही समयपछि सबै कुरा टुंगिने उनको भनाई छ ।

टिप्पणीहरू