केदारलाई गरेको हस्ताक्षर फिर्ता लिन कांग्रेसको निर्देशन

केदारलाई गरेको हस्ताक्षर फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । 

बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन र पार्टीको संस्थागत निर्णयअनुसार चल्न निर्देशन दिएको हो । 

प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन गठबन्धनले गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, केन्द्रले थप केही निर्देशन दिए त्यससम्बन्धमा थप निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको उनले बताए । 

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेको समर्थनमा कांग्रेसको शेखर कोइराला गुटका कार्की र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले दावी प्रस्तुत गरेका छन् । 

आङ्बोले गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसदको समर्थन रहको निवेदन बुझाएका छन् । कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरेका छन् । 

दुबै पक्षबाट ४७-४७ सांसदको हस्ताक्षरसहितको दावी परेपछि प्रदेश प्रमुख परशुराम खापुङले निर्णय गरिसकेका छैनन् ।
 

टिप्पणीहरू