कुन खर्चले किन्ने होला १० वटा विमान ?

कुन खर्चले किन्ने होला १० वटा विमान ?
सुन्नुहोस्

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा नेपाल वायुसेवा निगमका लागि १० वटा जहाज खरिद गर्न लागिएको बताउनुभएको छ । आज सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको ज्ञापनपत्र बुझ्ने क्रममा उहाँले निगमको सेवा विस्तार गर्न र हवाई भाडामा एकरुपता ल्याउन पनि निगमलाई १० वटा विमान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दसैंअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उहाँको दाबी छ । आजदेखि दशैं शुरु भएको छ । आगामी शुक्रबारसम्म कार्यालय खुल्छ । त्यसपछि पाँच दिन सरकारी कार्यालय बन्द हुने छन् । तर, आगामी पाँच दिनमा विमान खरिदको प्रक्रिया अघि बढ्न लागेको हो ? भन्ने सम्बन्धमा निगम स्रोतले भन्यो, ‘१० वटा होइन,तीन वटा जहाजको निम्ति प्रक्रिया अघि बढेको छ । ठूला होइन,साना विमान खरिद गर्न लागिएको हो ।’

निगमको कार्य योजनामा थप १० वटा विमानको आवश्यकता देखिएको छ । हाल चार वटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । दुई वटा ट्वीन अटरबाट पूर्वी र पश्चिम नेपालका केही पहाडी जिल्लामा उडान भइरहेको छ । आन्तरिक उडानका लागि तीन वटा १९ सिटे जहाज खरिद गर्ने अन्तिम तयारी भएको बताइन्छ । 

पहिलेका दुई वटा न्यारो बडी र दुई वटा वाइड बडी जहाज खरिद गरेको रकममध्ये अझै ४५ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । नेपाल सरकारको जमानीमा निगमलाई कर्मचारी सञ्चय कोषलगायत केही बैंक तथा वित्तीय संस्थाले उक्त ऋण उपलब्ध गराएका हुन् । झण्डै तीन अर्बमा खरिद गर्न लागिएको १९ सिटे जहाजको निम्ति निगमको सञ्चित कोष खर्च गर्न लागिएको स्रोतको दाबी छ ।

निगमले आवश्यकता महसूस गरेका १० वटामध्ये दुई वटा ४२ वा ७२ सिटका विमान हुन् । त्यसैगरी तीन वटा १५८ सिटका मध्यमस्तरका र दुई वटा २५० सिटभन्दा बढीका ठूला विमान हुन् । तर,ती सबै खरिदको निम्ति निगमको आन्तरिक स्रोत दह्रो नरहेको,अन्य संस्थाको ठूलो ऋण चुक्ता गर्न बाँकी रहेकाले मन्त्रीको दाबीमा आंशिक सत्यता रहेको मान्न सकिने निगमका अधिकारीहरु बताउँछन् ।

टिप्पणीहरू