उपरखुट्टीवाला जर्नेल कति होलान् अरु ?

उपरखुट्टीवाला जर्नेल कति होलान् अरु ?

स्वाट्ट स्वाट्ट सर्को, फुङ्फुङ्ती धुँवा उडाउँदै एक जना ठूलो ज्यानका मान्छे नेपालगञ्ज एयरपोर्टको भिआइपी कक्षमा हाफप्यान्टसहित सिसावाल टि टेबलमाथि उपरखुट्टी लगाउँदै चुरोट तान्दै थिए । भिआइपी कक्ष धुँवाले भरिएको र ती मान्छे देखेपछि विमानस्थल प्रमुख प्रतापबाबु तिवारी नदेखेझैं तर्किए ।

उनी तर्किएको देखेपछि ती ओहोदावाला भिआइपीले भने, ‘ओइ ! तिवारीजी होइन ?’ तिवारीले फर्किएर सरी भन्दै धुँवा उडाउने भिआइपीलाई भने– ‘हजुरले चुरोट चैं नतानिस्या भए हुन्थ्यो’ यसरी सचेत गराउनेलाई भिआइपीले उल्टै भने ‘धूमपान निषेधित भनेर त कतै लेखेको छैन ।’ प्रत्युत्तरमा तिवारीको जवाफ थियो, ‘यो त सार्वजनिक स्थल हो नि ! यस्तो ठाउँमा लेख्नै पर्दैन ।’ ती भिआइपी थिए– नेपालगञ्जस्थित नेपाली सेनाको बाहिनीका तत्कालीन जर्नेल अनन्त कार्की ।

त्यहाँबाट विमानस्थल प्रमुख तिवारी काममा अन्तै हिँडे । उनी हिँडेपछि ड्युटीमा रहेका राष्ट्रिय अनुसन्धानका सईलाई जर्नेलले ‘ओइ, त्यो तिवारीलाई भित्र बोला’ भन्दै जंगिए । तर, सईले विमानस्थल प्रमुखलाई बोलाउन सकेनन् ।

सादा बर्दीमा रहेका ती जर्नेल नेपालगञ्जबाट आजभन्दा ७ वर्षअघि काठमाडौं आउन लागेका बेला उक्त प्रकरण घटेको थियो । यो घटनाबाट रन्थनिएका जर्नेल कार्कीले प्रत्यक्षदर्शी अन्य सुरक्षाकर्मी र कर्मचारीलाई सरुवा गर्न दबाव दिए । उनले त्यसबेला बाँके जिल्लाका सिडिओ मदन भुजेललाई थर्काउँदै तत्कालै एयरपोर्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई सरुवा गर्न अह्राएका थिए । उनकै आदेशमा सिडिओले राष्ट्रिय अनुसन्धानका सई भुपेन्द्र बस्नेतलाई १५ दिने काज सरुवा गरी फाजिलमा बस्न लगाए ।

यत्रा रवाफिला जर्नेल कार्की भने पूर्णचन्द्र थापाको कार्यकालभरि ढलिमली गरेर प्रभुरामद्वारा म्यादै नथपी घर पठाइए । उनी इटहरी पृतनाको प्रमुख हुँदा पनि बर्दीको तुजुक देखाएर मुख्यमन्त्रीको अगाडि उपरखुट्टी लगाउँदै चुरोटको धुँवा उडाएका थिए । उनी त काण्ड लागेर घर गए नरम बोल्ने स्वभावका तिवारी भने अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक छन् । सेनामा अझै यस्तै प्रवृत्ति छ कि हटिसक्यो– नेपाली जनता जान्न चाहन्छन् ।
 

टिप्पणीहरू