हाँस्दाहाँस्दै रुन पुगेको डनको जिन्दगी

हाँस्दाहाँस्दै रुन पुगेको डनको जिन्दगी
सुन्नुहोस्

- ईश्वरी राई (इशु)

०५८ सालतिर ‘ग्याङस्टर’ को शहर थियो, टोल–टोलमा ‘टोले ग्याङ’हरू एकआपसमा भिड्थे । ‘ग्याङ फाइट’ले राजधानीका गल्लीहरू अशान्त थिए । कसैलाई मर्नेगरी कुट्न सकियो भने त ऊ त्यहाँको ‘दादा’ हुन्थ्यो । अनि ‘चुरोट’ तान्नेहरू आफूलाई हिरो ठान्थे । ‘दादा’को भेष अनि चुरोट । त्योबेलाको फेसनजस्तै थियो । 

१३ वर्षका ज्योति लामाले पनि ठान्थे– हो, हिरो त तिनीहरू नै हुन् । ‘टोले गुण्डा’, ‘गुण्डा नाइके’, ‘डन’ र ‘चुल्ठेमुन्द्रे’को भाष्य त्यहीबेला निर्माण भयो । आफ्नै सर्कलका ‘सिनियर’ दाइहरूले मान्छे कुटेको देख्दा ती दाइहरूलाई फिल्मको ‘हिरो’सँग तुलना गर्थे ज्योति । र आफू पनि त्यसैगरी ‘हिरो’ बनेको सम्झिन्थे । टोल–छिमेकका दाइहरूले ‘बुङ्बुङ्ती’ चुरोट उडाएको देख्दा उनलाई हिरै बन्न मन लाग्थ्यो । तर, त्यसका लागि चुरोट तान्नैप¥यो! हिरोपन्तीको त्यो सपना पछ्याउन उनले चुरोटका सर्काहरू तान्न थाले । कक्षा ६ मा पढ्थे । पढाइ त ‘गुल’ भैदियो । ज्योति त्योबेला चुरोटकै ‘एडिक्ट’ भइसकेका थिए । र, त्यही चुरोटको त्यही धुँवा बटारिँदै बटारिँदै अब ‘नशा’ हान्ने भइसकेको थियो । अध्ययनशील विद्यार्थीका लागि ‘फलामे ढोका’ ‘एसएलसी’ थियो । त्योबेला उनका लागि ‘चुरोट’ नै ‘आइरन गेट’ बन्यो । ‘त्यो एक चुरोटको सर्को कहिलेदेखि कुलत बन्यो मैले थाहै पाइनँ’, उनले भने । 

काभ्रेका ज्योति सानैदेखि जिज्ञासु थिए । नयाँ कुरा सिक्ने र जान्ने सबैभन्दा ठूलो चाहना हुन्थ्यो । आफूले नगरेको काम अरूले गरेको देख्दा उनलाई पनि त्यो गरेरै छाड्नुपथ्र्याे । त्यही मानसिकताको कारण साथीभाइहरूको संगतबाट कुलतमा फसे । घरबाट स्कूल जाने बहाना बनाउँदै साथीको ग्याङ बनाएर घुम्न जान्थे र दिनभरि ‘आवारागिरी’ गर्थे । छलेर बाहिर–बाहिरै रमाउन थालेका ज्योतिको दिनचर्या विस्तारै बदलिँदै गयो ।

‘मैले आफैँलाई त माया गर्दिनथेँ, परिवार त झन दोस्रो भयो नि !’ 

घरपरिवारसँग टाढिँदै गएका उनी कुलतमा फसेका साथीहरूको नजिक भए । पैसाकै लागि घर झगडा गर्न थाले । अभिभावकलाई ठग्दै लगेको पैसाले लागुऔषध सेवन गर्थे । र दिनभरि ‘झ्याप’ भएर रमाउँथे । दिनको पन्ध्र सयदेखि दुई हजार रूपैयाँसम्म लागुऔषधमा खर्चिने उनी ‘ड्रग्स’को नशा लागेपछि खुशी हुन्थे । त्यो समय उनलाई न कसैको माया लाग्थ्यो, न त वास्ता नै ! चाहिन्थ्यो त मात्र नशा । १७ वर्षसम्म कुलतको आहालमा डुबेका ज्योतिले कुनै काम गरेनन् । किनकि उनीसँग काम गर्ने समय नै थिएन । उनी एक दिनमात्रै बाँच्नका लागि तड्पिन्थे । दिनरात कसरी डोज पूरा गर्ने भनेर सोचिरहन्थे । त्यही सोचले काम गर्न दिएन । ‘साधारण मानिसहरू बाँच्नका लागि काम गर्छन्, पैसा कमाउँछन् तर कुलतमा फसेका हामीहरू एकदिनको लागि मात्रै बाँच्छौँ’, उनी सुनाउँछन्, ‘दिनरात कसरी ड्रग्स जुटाउने भनेर सोचिरहन्छौँ, त्यसैले काम गर्ने फुर्सदै भएन ।’

ड्रग्स दिनमा किन्नुपथ्र्याे । रातलाई पनि किन्नैपर्ने । कुलतको नशा थियो त्यो । डोज पुगेन भने दिनभरि तड्पेरै बित्थ्यो । अर्काे डोज नहुँदा ‘सिकनेस’ले रातमा निदाउनै दिन्नथ्यो । आफ्नो आवश्यकता पूर्ति गर्न त्यस्ता धेरै काम गरे, जो गैरकानुनी पनि थिए । कुलतमा फसेकाहरूले गलत काम गरे पनि त्यो अवस्थामा सही लाग्ने उनको अनुभव छ । ‘ड्रग्सको नशा यति धेरै हुन्छ कि त्यसले हामीलाई जे गर्न पनि बाध्य बनाउँछ । त्यतिबेला कसैले गलत काम गर्नका लागि रोक्न सक्दैन,’ विगत सम्झिँदै उनले भने । 

०००

घरका माइला छोराको अवस्था देखेर दुःखी भएका परिवारले सुधार केन्द्रमा पनि राखे । २०६१ सालमा उनी ‘रिच वन’ सुधार गृहमा बसे । तर पनि सुध्रिन सकेनन् । जसको कारण थियो, उनको सोच । ‘२०६० सालमा एसएलसी दिएँ र ६१ सालमा सुधार गृह बसेँ तर पनि खान छोडिनँ । किनकि त्योबेला ड्रग्स मेरो आवश्यकता बनिसकेको थियो,’ उनले सुनाए । तीन महिना रिच वनसहित तीन पटक सुधारगृहमा बसे तर पनि सुध्रिन सकेनन् । कुलतमा फसेका उनलाई जीवन बिगारिरहेको कुरा थाहा थियो, तर आफ्नो अवस्था देखेर लाचार थिए । उनका लागि पहिलो प्राथमिकता भनेकै लागुऔषध थियो । ‘मलाई परिवारको धेरै माया लाग्थ्यो तर ड्रग्स मेरो श्वास बनिसकेको थियो’, नशामा रहँदाको अवस्था खुलाउँदै उनले भने, ‘मैले आफैँलाई त माया गर्दिनथेँ, परिवार त झन दोस्रो भयो नि !’

झण्डै दुई दशक कुलतको बाटोमा हिँडेका उनले आत्महत्याको सोच पनि बनाए । जब नशाका लागि पैसा जुटाउन सक्दैन थिए, तब जिन्दगी नै सक्काउन खोज्थे तर सकेनन् । मनमा यस्तो पनि आउँथ्यो कि, मरेपछि ड्रग्स लिन पाइन्न होला! दिनरात नशा गरेर थाकेका उनलाई एकदिन अचानक सुध्रिने सोच आयो । र कुलतको बाटो त्यागेर साधारण जीवन बिताउने निधो गरे । 

र, गोकर्णस्थित ‘विस्डम फाउण्डेशन’ मा बस्न थाले । ‘म शारीरिक रूपमा कमजोर हुँदै गएको थिएँ । त्यसैले नर्मल लाइफ जिउने बाचा गरेँ‘, पाँच वर्ष अगाडिको कुरा सुनाउँदै भने, ‘अनि मैले केही सेवन गरिनँ ।’ सुधार गृहमा बसेको ६ महिनामै ‘रिकभर’ भएर रमाउन सिके । ‘मैले हाँस्न बिर्सिएको थिएँ, फेरि हाँस्न सिकेँ’, लामाले सुनाए । 

०००

विगतलाई फर्केर हेर्दा झस्किने उनी अहिलेको जीवन देखेर खुशी छन् । तर कहिलेकाहीँ आफूले गुमाएको समय सम्झिएर दुःखी हुने गर्छन् । ‘सबै जनाको पास्ट हुन्छ, मेरो पनि थियो । मलाई मेरो विगतसँग कुनै गुनासो छैन तर समय गुम्यो’, उनी भन्छन्, ‘तर म विगतमा कुलतमा नफसेको भएँ अहिले मभित्र यतिधेरै आत्मविश्वास बढ्दैन थियो ।’

लागुऔषध प्रयोगकर्तालाई सोको लत छुट्याउन जति गाह्रो हुन्छ, त्यति नै चुनौतीपूर्ण हुन्छ, नयाँ जीवन बाँच्न । त्यही चुनौतीसँग गुज्रिएका थिए, ज्योति पनि । १७ वर्षसम्म कुलतमा फसेर उठेका उनलाई हिजोआज एउटै कुराको पश्चाताप छ, ‘त्यो एक चुरोटको सर्को नतान्देको भए... ।’ 

पहिलोपटक ‘मःम’ पसलभित्र तानेको चुरोट कहिले गाँजा, ट्याबलेट, ब्राउन सुगर हुँदै इन्जेक्सनसम्मै पुगेको उनलाई पत्तै भएन । ‘त्यो चुरोट यति छिटो ड्रग्समा परिवर्तन भयो कि मैले नै चाल पाइनँ’, उनले तीन दशकअघिको कुरा खोले । साथीभाइको संगतमा लागेर समय खर्चिएका युवाहरूलाई भन्न चाहन्छन्, ‘कुलतमा लागेर कोही हिरो बन्दैन । बरू, जिरो भइन्छ । अहिले हामी त्यसैको ऐना बनेका छौं ।’
 

टिप्पणीहरू