माओवादीको यो रूपान्तरण कि बिसर्जन ?

माओवादीको यो रूपान्तरण कि बिसर्जन ?
सुन्नुहोस्

– राजु क्षेत्री 

पुरानो मर्दै जानु तर नयाँ जन्मन नसक्नु नै संकटको मूल कारण हो ––– आन्तोनियो ग्राम्सी ।

नेपाली समाज समस्याका चुलिहरूले अग्लिँदै गएको छ । राजनीतिले सामान्यतः वर्तमानका समस्या हल गर्दै भोलि आउने समस्या समाधानमा आफूलाई केन्द्रित रहेर नीति बनाउँदै अघि बढ्नुपर्ने हो तर त्यसको ठीक विपरीत हामी भोलिका नेपाली समाजको भाग्यबारे जनवादी– समाजवादी कोणबाट बहस गरिरहेका छौँ र आजको समाजका विकराल समस्याबाट आफूलाई कोषौं दूर राखेका छौं । 

आज पनि हामीसँग कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्छ र प्रमुख प्रतिपक्षी दल पनि कम्युनिष्ट पार्टीकै छ । दुनियाँमा यस्तो संयोग बिरलै हुने गर्छ । समाजको आमूल रूपान्तरणको उद्देश्य बोकेर रक्तक्रान्तिको बाटो हुँदै सत्तामा पुगेको कम्युनिष्ट क्रान्तिकारी पार्टीले देश चलाइरहेछ । सरकार र व्यवस्था गलत भयो भनेर त्यत्रो बलिदानसहित सत्तामा आएको पार्टीले पनि नागरिकको विश्वास जित्न सकेन र नयाँ विकल्पको बहस उठिरहेका छन् । के अब नेपाली समाजले आफ्नासामुका चुनौती हल गर्ने सामथ्र्य पुराना राजनीतिक दलमा देख्न छाडेको हो ? आफूलाई क्रान्तिकारी शक्ति भन्ने माओवादीले पनि नेपाली जनतालाई निराशाको गहिरो सुरुङबाट बाहिर निकाल्न असफल भएको हो ? 

नेपाली समाजका आजका प्रमुख समस्या के हुन् ? नेपालका प्रमुख राजनीतिक पार्टी यहीँनेर रुमल्लिरहेका छन् । आफैैँले निर्माण गरेको राजनीतिक प्रणालीको गोलचक्करमा घुमिरहेका छन् । नेपालका प्रगतिशील शक्तिले आधा शताब्दीदेखि उठाउँदै आएको जनतन्त्र र जनजीविका नै आजको मुख्य समस्या हो । यिनै विषयलाई मुद्दा बनाएर नेपाली कांग्रेस र तत्कालीन नेकपा ( माले ), माक्र्सवादीलगायत पार्टीले लामो संघर्ष गरे । पुरानो राज्य व्यवस्थासँग विश्वस्त हुन नसकेको ठूलो समूह परिवर्तनको पक्षमा उत्रियो । आन्दोलन भयो, व्यवस्था परिवर्तन भयो र दशकौंदेखि जनजीविकाको उचित प्रबन्धको अभावमा छट्पटिएको युवा पुस्ताले ठूलो उत्साहसाथ नयाँ व्यवस्थालाई काँध थाप्यो । 

०४६ को आन्दोलनपछि समय अघि बढ्दै गयो तर आम मानिसले देखेको परिवर्तनको सपना उनीहरूको जीवनमा आउँदै आएन । बरु उनीहरूले अगाडि सारेका नेताहरूको जीवनले गति समात्यो र नयाँ वर्गका रूपमा अर्को एलिट जन्मियो । नयाँ व्यवस्थाले रोजगारी सिर्जना गर्नुको साटो चलिरहेका उद्योगलाई निजीकरणको नाममा कौडीको मूल्यमा निजी क्षेत्रलाई बेचिदियो । उदार पुँजीवादको खोल ओढेर आएको दलाल पुँजीवादले यहाँ उत्पादित वस्तुको उत्पादन रोकेर महँगोमा विदेशी सामान आयात गर्न थाल्यो ।

यसले गर्दा आमरोजगार कटौती हँुदै गयो र देशमा घुमिरहेको पैसा विदेशी वस्तु आयात गर्नका लागि बिदेसिन थाल्यो । राजनीतिक परिवर्तनबाट ठूलो आशा बोकेका युवा विस्तारै विदेश पलायन हुन बाध्य भए र नयाँ व्यवस्थाले आशा होइन जन्मनेबित्तिकै समाजमा निराशा बाँड्न शुरु ग¥यो । राजनीतिक निराशाले जन्माएको सामुहिक आक्रोशलाई तत्कालीन माओवादीले उपयोग गरेर १० वर्ष लडाइँ लड्यो । बन्दुकको आडमा ठूलै शक्ति निर्माण भयो । ठूलो क्रान्तिको बाटो हुँदै आएको व्यवस्थामा आममानिसका सपना स्वाभाविक रूपमा ठूला हुने नै भए । २०४६ को आन्दोलन र त्यसपछि निर्माण भएको प्रणालीले पूरा गर्न नसकेको जनतन्त्र र जनजीविकाका प्रश्न हल गर्ने दायित्व क्रान्तिबाट आएको माओवादीमा हुनु स्वाभाविक थियो । 

दुःखका साथ भन्नुपर्छ– ०४६ पछि परिवर्तनका असफलताको पुनरावृत्ति उही रूपमा ०६३ पछि गणतन्त्र कालमा पनि दोहोरियो । क्रान्ति र परिवर्तनका नाममा नेपाली जनता पटक–पटक ठगिए । फेरि एकपटक नेपाली जनताको जीवनमा हात्ती आयो – हात्ती आयो – फुस्सा भयो । ०४६ सालको क्रान्ति – परिवर्तनपछि जन्मेको नयाँ शासक समूहजस्तै माओवादी जनयुद्धका आडमा फेरि अर्को शक्ति समूह नेपाली राजनीतिमा उदायो । 

०४६ र ०६३ पछि उदाएका राजनीति शक्तिले नाम के राखे त्यो त्यति महत्वको कुरा रहेन । उनीहरू आफ्ना आचरण र व्यवहारमा पुरानो शक्तिकै निरन्तरतामा प्रकट भए । जनयुद्धकालभरि जनतालाई देखाएको समानताको सपना, परिवर्तन र समृद्धिको सपना नजन्मँदै तुहिन पुग्यो । उही अभाव, उही बेरोजगारी – उही असमानता र उही भ्रष्टाचार । जनयुद्धको खोल ओढेर आएको नयाँ ठगबाट जब नेपाली जनताले आफू ठगिएको थाहा पाए, आफ्ना परिवारले बगाएको रगतको फाल्सामाथि टेकेर फेरि केही छट्टु सत्तामा पुगेर नयाँ वर्ग बनेको देखे । परिवर्तनकामी जनतामाथि माओवादीले गरेको भद्दा मजाक र अपमान कालो अध्यायको रूपमा लामो समय सम्झिइरहनेछ । 

देश परिवर्तनको सपना बोकेर युद्धमा हिँडेको युवा आज खाडीमा मजदुरी गरिरहेछ र जनयुद्धमा मान्छेलाई मर्न– लड्न उत्प्रेरित गर्ने नेताका छोराछोरी युरोप–अमेरिकातिर छन् । परिवर्तनका नाममा ठूलो धोका भयो । राजनीतिक आन्दोलनपछि जन्मेको निराशाको शिकार भएको पुस्ता विदेशमा श्रम बेचिरहेको छ ऊ आफ्नो देशको राजनीतिक नेतृत्वप्रति घृणा बमन गरिरहन्छ । एउटा गम्भीर प्रश्न उठेको छ– जनताको आशालाई संबोधन गर्न नसक्ने राजनीतिक शक्तिको नेतृत्वमा के देश गोलबन्द हुन सम्भव छ ? इतिहास साक्षी छ – जनताको नजरबाट गिरेका शक्तिको यात्रा अन्ततः आर्यघाटमै पुगेर विसर्जन हुने हो । घाटमा लैजान ठिक्क परेको लाशसँग एउटी युवतीले आफ्ना बाँकी जीवनका सपना नदेखेजस्तै आफ्ना गलत आचरण र पश्चगामी राजनीतिक निर्णयका कारण माओवादी पार्टी आमजनताको भरोसाको केन्द्र बन्न अक्षम सावित भइसक्यो भन्ने बहस पनि निकै उच्च स्वरमा उठिरहेको छ ।

यही निराशा र राजनीतिक शून्यताबीच फेरि बहस उठ्न थालेका छन् – के परिवर्तन असम्भव छ ? के नेपाली जनताको सुख र समृद्धिको सपना काठमाडौंका सडकमा पोस्टर भएर केपी ओलीको रसिला ओंठमा मुसुक्क मुस्कुराउने मात्रै हो त ? आममान्छेका जीवनमा के यसो हुन सम्भव छैन ? विकास र समृद्धि अब पुराना शक्तिको नेतृत्वमा असम्भव भएको हो ? कि बादलको छेउमा देखिएको चाँदीको घेरा अझै नेपाली राजनीतिका पुराना पार्टीमा बाँकी नै छ ? – यिनै अनुत्तरित प्रश्नका पेरिफेरीमा नेपाली जनताको भाग्य – भविष्य लुकेको छ । 
गुमेको शाख बचाउन र इतिहासको महान् दायित्वबाट विमुख नहुन आफूलाई सुधार्ने हो भने, आत्माआलोचना गर्दै अघि बढ्ने हो भने अझै परिवर्तनको हुटहुटी बोकेको ठूलो शक्ति ज्यूँदै छ । समाज परिवर्तनका लागि मनमुटुमा आगो बोकेका मान्छेको जमात बिना नेपालमा न क्रान्ति सम्भव छ न परिवर्तन । आफ्नो भ्रष्ट आचरण, सुख, सयल, सत्ता र दलालहरूको काख छोडेर फेरि एकपटक माओवादी शक्तिले नेपालको आर्थिक रूपान्तरण र समृद्धिको यात्रामा आफूलाई उपयोगी सावित गर्न सक्ला ? धेरै मानिसको अपेक्षा अहिले पनि माओवादी नेतृत्वले यो देशको शान्ति र समृद्धिको नेतृत्व गरोस् भन्ने नै छ ।

आन्दोलनबाट आएको शक्तिको राप– तापबाट देशले ऊर्जा प्राप्त गरोस् र परिवर्तनका लागि बगाएको रगत खेर जान्न भन्ने सन्देश दिन माओवादी सफल होस् भन्ने अपेक्षा यद्यपि बाँकी नै छ । अहिले सामान्य हिसाबले हेर्दा माओवादी आन्दोलन भ्रष्ट हुनु वा नहुनुले आममान्छेलाई खास प्रभाव नपार्न सक्छ तर परिवर्तन र क्रान्तिप्रति आममान्छेमा उत्पन्न हुने भावनात्मक संवेदनालाई भने माओवादी आन्दोलनको विसर्जनले चिरकालसम्म नकारात्मक प्रभाव पारिरहन्छ । क्रान्ति किन गर्नु – किन लड्न जानु जबकि क्रान्ति वा परिवर्तन वा सत्ता साझेदारीबाट हुने लाभ हामी जनतालाई आउने होइन, उनै नेताले हसुर्ने हुन् भन्ने मनोवैज्ञानिक भाष्य जनजनको मनमा जन्मिन थाल्यो भने देश लामो समयसम्म यथास्थितिवादीको हातमा जानेछ र परिवर्तन आमजनताका लागि टाढाको फल सावित हुनेछ ।

परिवर्तनको एजेण्डा बोकेर आन्दोलन – क्रान्तिको नेतृत्व गरेको पार्टी यदि असमयमै मृत्यु शय्यामा पुग्छ भने त्यसको असर केही नेता–कार्यकर्तालाई मात्र पर्ने होइन, सामाजिक रूपान्तरण प्रक्रियालाई नै अवरुद्ध पार्छ । त्यस हिसाबले हेर्दा माओवादी पार्टी एक समयको क्रान्तिकारी पार्टी त हो नै, यसले आफ्नो लक्ष्यलाई बीच बाटोमै विसर्जन गरिदिँदा त्यसको असर नेपालका मुक्तिकामी जनताको जीवनमा पर्न गयो र देशव्यापी आम निराशाको मनोविज्ञान विकास हुनुमा माओवादी आन्दोलनले समातेको गलत बाटो प्रमुख कारक हो । 

डाक्टरले जब रोग पत्ता नलगाई बिरामीलाई औषधि दिन्छ र त्यसले रोग निको पार्नुको साटो झन् बल्झाउँछ– बिरामी झारफुकका लागि झाँक्रीको खोजीमा निस्कन्छ र झन् बढी ठगिन्छ । अहिले यस्ता विभिन्न झाँक्री मिसन २०८४ को मन्त्र बोकेर निराश जनताका भाग्यविधाता भएको डंका पिट्दै हिँडेका छन् । मुक्तिको सपना देखाएर समाजलाई गरिबीको दलनमा पिसिराख्ने र आफू नयाँ सम्भ्रान्त वर्गका रूपमा स्थापित हुने अराजनीतिक – आपराधिक माओवादी चरित्रका कारण देश प्रतिदिन निराशाको खाडलमा जाकिँदै गएको छ ।

अझै समय घर्किसकेको छैन, माओवादी नेतृत्वले आफूलाई सुधारोस् र रङ साइडमा रोकिराखेको नेपाली क्रान्तिको गाडीलाई गन्तव्यमा पु¥याओस् । क्रान्तिका नाममा लाखौं मान्छेका सपनालाई अलपत्र पार्ने अधिकार कसैलाई छैन । जसको तातो रगतमाथि टेकेर सत्तामा पुग्यौ र सुखको साम्राज्य भोग गरिरहेका छौ, भोलि त्यही रगतमा चिप्लिएर माटो चाट्ने दिन नआओस् ।

टिप्पणीहरू