दशैंमा धौलागिरी अस्पतालमा आधा दर्जन शिशुको जन्म

दशैंमा धौलागिरी अस्पतालमा आधा दर्जन शिशुको जन्म

जनचेतनामा अभिवृद्धि र सरकारी सहयोगका कारण पछिल्लो समय अस्पतालमा प्रसूति गराउने महिलाको संख्या बढ्दै गएको छ । 

स्वास्थ्यकर्मीको निगरानीमा सुरक्षित रुपमा बच्चा जन्माउने सुत्केरी आमाको संख्यामा बढोत्तरी भएको छ । यसबाट महिलाको स्वास्थ्य जोखिममा पर्ने खतरा कम हुनुका साथै बाल मृत्युदरमा पनि कमी आएको छ । 

स्वास्थ्य संस्थामा प्रसूति गराउँदा कठिन अवस्थाका गर्भवतीलाई समेत बचाउन सकिन्छ । यसबीचमा बागलुङको धौलागिरी अस्पतालमा प्रसूति गराउनेको संख्या बढेको छ । 

दैनिक तीनदेखि चार जना प्रसुतिको निम्ति आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । दशैंको अवधिमा छ जना गर्भवती महिलाले प्रसूती गराएको जानकारी दिइएको छ । अस्पतालमा एक जना मात्रै प्रसूती तथा स्त्रीरोग चिकित्सक रहेकाले बेलाबखत समस्या आउने गरेको छ ।

‘अस्पतालमा बर्थिङ्गका लागि एक जना मात्रै चिकित्सक हुनुहुन्छ । दशैंको बेला उहाँ घर जानुभयो । शल्यक्रिया गराउने कोही हुनुहुन्न । त्यसैले अधिकांश गर्भवतीलाई पोखरा पठाइयो । नत्र यहाँको प्रसुति गृह कहिले पनि खाली हुँदैन’, एक जना कर्मचारीले भने । 

चिकित्सक नहुँदा बिरामीलाई पोखरा पठाउने गरिएको उनले जानकारी दिए । अस्पतालमा वर्षेनी एक हजार बढीले प्रसूति गराउने गरेको उनको भनाई छ । 

जन्मियो हालसम्मकै सबैभन्दा बढी तौलको शिशु

धौलागिरी अस्पतालमा पहिलोपटक हालसम्मकै सबैभन्दा बढी तौल भएको शिशुको जन्म भएको छ । एउटी गर्भवती महिलाले सबैभन्दा बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्यालले चार किलो ७५० ग्राम तौलको शिशु जन्माएकी हुन् । उनले सामान्य तरिकाले शिशु जन्माएको अस्पतालले जनाएको छ । हालसम्म अस्पतालमा चार किलो पाँच सय ग्रामको शिशुको जन्म भएको थियो ।

टिप्पणीहरू