काँग्रेस सभापतिले कुनै युवामा जयवीर नदेखेकोमा राप्रपा प्रवक्ताद्वारा निन्दा
पूर्वपञ्चहरुको पार्टी राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पछिलो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै निन्दा गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने बताएपछि श्रेष्ठले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत् उनले देउवाको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताए ।
हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छबि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै श्रेष्ठले आफूहरुले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेकाहरुले जवाफ खोज्नुपर्नेमा जोड दिए ।
‘देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भएपनि ‘रहर पुगेपछि फर्कने’ भनि दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशिएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ । हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।’
युवाले अब जवाफ खोज्नुपर्ने भन्दै उनले थप अगाडि भनेका छन्, ‘दुबई, कतार, मलेसिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन् । आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२÷६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ । हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।’
टिप्पणीहरू